काठमाडौं । फेस्टिभ सिजनमा भारतीय बजारमा ५ नयाँ एसयूभी सार्वजनिक हुने भएका छन् ।
दशैं, तिहार जस्ता चाडपर्व र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरूले नयाँ कार बजारमा ल्याउन लागेका हुन् ।
नेपाल, भारत जस्ता देशमा फेस्टिभ सिजनमा धेरै संख्यामा नयाँ कार बिक्री हुन्छ । तिनै ग्राहकलाई लक्षित गर्दै कम्पनीहरूले नयाँ नयाँ मोडलका कारहरू लन्च गर्ने योजना बनाएका हुन् ।
टाटा, हुन्डाई, महिन्द्राले नयाँ एसयूभीहरू लन्च गर्ने घोषणा गरेका छन् । भारतमा लन्च हुने यी सबै गाडी नेपाल आउने देखिन्छ ।
भारतमा फेस्टिभ सिजनमा लन्च हुने यी कारहरू नेपालमा भने अंग्रेजी नयाँ वर्षसम्ममा लन्च हुने सम्भावना छ ।
१. नयाँ जेनेरेसन भेन्यू
हुन्डाई मोटर्स इण्डियाले नयाँ जेनेरेशनको भेन्यू १ महिनापछि अर्थात् अक्टोबर २४ मा लन्च गर्ने घोषणा गरेको छ । नयाँ जेनेरेशन भेन्यूमा ओभरअल डिजाइन र क्याबिन फिचरमा धेरै परिवर्तन भएको छ ।

नयाँ भेन्यूको स्टाइल क्रेटा र अल्काजार जस्ता एसयूभीबाट साभार गरिएको छ । यो एसयूभीमा सेग्मेन्टमै पहिलो लेबल २ एडास सिस्टम हुनेछ । मेकानिकल्ली नयाँ भेन्यूमा पुरानै जेनेरेशनको इन्जिन र गियर सिस्टम हुनेछ ।
२. टाटा सिरिया
टाटाको सिरिया यसै वर्षको नोेभेम्बरमा लन्च हुने भएको छ । २० वर्ष अगाडि डिस्कन्टिन्यू भएको टाटा सिरिया नयाँ अवतार र पावरट्रेनको साथमा बजारमा आउने भएको हो ।
कम्पनीले गत जनवरीमा भएको भारत मोबिलिटी ग्लोबल एक्स्पोमै प्रि-प्रोडक्सन मोडल देखाएको थियो । कम्पनीले सिरियालाई पेट्रोल, डिजेल र इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ ।
३. महिन्द्रा थार फेसलिफ्ट
महिन्द्राको थ्रीडोर लाइफस्टाइल एसयूभी थार अफरोडरको मिडलाइफ फेसलिफ्ट अक्टोबरमा लन्च हुने भएको छ । अपडेटेड थारमा डिजाइन अपडेट हुनुका साथै नयाँ क्याबिन अपहोस्ट्रे र फिचरहरू अपडेट भएका छन् ।

नयाँ थारमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन, १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले, एप्पलकार प्ले र एण्डरोइड अटो जस्ता क्याबिन फिचर थपिएको छ । यसमा इन्जिन भने पहिलाकै जस्तो २.० लिटरको टर्बो पट्रोल, १.५ र २.२ लिटरको डिजेल इन्जिन अप्सन रहने छ ।
४. पेट्रोल ह्यारियर र सफारी
टाटा मोटर्सले पहिलो पटक पेट्रोल इन्जिनमा ह्यारियर र सफारी लन्च गर्ने भएको छ । कम्पनीले अक्टोबर २५ मा यी दुई नयाँ एसयूभी सार्वजनिक गर्ने भएको हो ।

यसअघि डिजेल इन्जिन अप्सनमा रहेको यी एसयूभीमा १.५ लिटरको टर्बो जीडीआई इन्जिन रहेने छ । यो इन्जिनले १६६ हर्सपावर र २८० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यी दुवै एसयूभीको साथमा ६ स्पीडको म्यानुअल र ६ स्पीडकै टर्क कन्फर्टर अटोमेटिक ट्रास्मिसन रहेको छ । पेट्रोल भर्सनको ह्यारियर र सफारी डिजेल भर्सनभन्दा सस्तो हुने अनुमान गरिएको छ ।
५. टाटा पन्च फेसलिफ्ट
टाटा मोटर्सको माइक्रो एसयूभी पन्चको फेसलिफ्ट पनि यही वर्ष भित्रै लन्च गर्ने भएको छ । कम्पनीले अपडेटेड स्टाइलिङ र नयाँ फिचरहरूको साथमा पन्च फेसलिफ्टल्याउन लागेको हो ।

टाटा पन्च पेट्रोलमा हुन गइरहेको फेसलिफ्टको धेरै एक्सटेरियर डिजाइन पन्च ईभीसँग मिल्दोजुल्दो रहेको छ । नयाँ पन्चको क्याबिनमा २ स्पोक स्टेरिङह्वील, ६ वटा एयरब्याग, ८ स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर थप भएको छ ।

