यी ५ कारण चम्किँदै जिली ब्राण्ड, नेपालमा कस्तो गर्ला ?

काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप जिली एक बहुराष्ट्रिय कम्पनी हो । चीनमा आफ्नो उत्पादनको स्वीकार्यता बढाउँदै लगेको जिली युरोपदेखि अमेरिकासम्म बलियो व्यापार विस्तार गर्न सफल ब्राण्ड हो ।

जिली अटोमोबाइल ग्रुपसँग अहिले जिलीको अलावा भोल्भो, लोटस, प्रोटोन, रेडारा, पोलस्टर, जिकर, लिंक एण्ड को जस्ता ब्राण्ड छन् । भोल्भो र पोलस्टर जस्ता ब्राण्ड अमेरिकी बजारमा पनि राम्रो संख्यामा बिक्री हुँदै आएका छन् ।

नेपालमा पनि जिलीले आफ्नो उत्पादन बिक्री थालिसकेको छ । जिली ब्राण्डमा एलआरआर मोटर्सले ग्यालेक्सी ईएक्स फाइभ मोडल नेपाल ल्याएर बिक्री गर्दै आएको छ । अहिले ग्यालेक्सीको एउटा मात्रै मोडल नेपालमा उपलब्ध गराएको एलआरआर कम्पनीले निकट भविष्यमा नै ‘ईएक्स टु’ मोडल नेपाल ल्याउने जनाएको छ ।

जिलीको प्रत्येक्ष प्रवेश नेपाली बजारमा भइसकेको कारण विश्वभर यसको प्रभाव विस्तार हुनुका कारण हामीले यहाँ चर्चा गरेका छौं । जसले तपाईंहरूलाई जिलीको बारेमा जानकारी राख्न सहयोग पुग्न सक्छ ।

१. धेरै ब्राण्ड हुनु : जिलीसँगै सुरक्षाको हिसाबले निकै महत्वपूर्ण मानिने भोल्भो र पोलस्टर जस्ता ब्राण्ड छन् । पछिल्लो दिनमा जिकरदेखि लिंक एण्ड को ब्राण्डसम्मका कारहरू प्रिमियम र लग्जरी भएकै कारण चर्चा पाउन सफल छन् ।

बढ्दो ईभीको प्रभावमा मास मार्केटलाई नेतृत्व गर्न सक्ने ग्यालेक्सी ब्राण्डमा आएका उत्पादनले रेकर्ड बिक्री पाइरहेका छन् । यी सबैलाई मिलाउँदा एक महिनामै ३ लाखभन्दा धेरै युनिट कार बिक्री गर्न सक्ने ब्राण्डमा जिली पर्न थालेको छ ।

२. नयाँ प्रविधि र रिसर्च एजेन्सी : जिली सधै नयाँ प्रविधिमा अब्बल मानिन्छ । उसले ब्याट्री टेक्नोलोजी, स्वचालित कार विकास, माइक्रो चिप्स उत्पादन, लेजर कम्युनिकेसन जस्ता कटिङ एज टेक्नोलोजीमा ठूलो लगानी गरेको छ । कम्पनीसँग अहिले पनि विश्वका विभिन्न कुनामा ९ वटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरहरू छन् ।

३. ठूलो उत्पादन क्षमता : जिली ग्रुपसँग अहिले वार्षिक ५० लाख युनिटभन्दा धेरै कार उत्पादन गर्ने क्षमता छ । उत्तर अमेरिका, युरोप, चीन, दक्षिणपूर्वी एशियामा कम्पनीको उत्पादन प्लाण्ट छ । विश्वभर ४० उत्पादन प्लाण्ट संचालन गरिरहेको जिलीसँग ९ वटा डिजाइन हाउस छन् ।

४. ईभीमा फोकस भएसँगै तीव्र विस्तार : जिलीले जिकर, लोटस, ग्यालेक्सी जस्ता ब्राण्ड मार्फत ईभी उत्पादनलाई जोड दिएसँगै बिक्रीमा विस्तार भएको हो । सन् २०२५ मा मात्रै कम्पनीले २० लाख युनिट माथि न्यू इनर्जी भेहिकल बिक्री गर्ने देखिएको छ ।

५. दिगो र हरित उत्पादन : जिलीको सबैभन्दा बलियो मध्येको एक विषय दिगो र हरित उत्पादन पनि हो । यसका प्लाण्टहरू निकै स्मार्ट छन् । स्मार्ट उत्पादन लाइन तयार पारेको कम्पनीसँग रिसाइक्लिङ प्लाण्ट पनि छ । यसले नयाँ टेक्नोलोजीमा काम गर्दै हरित उत्पादन बढाउन सहयोग पुगेको छ ।

नेपालमा कस्तो गर्ला ?

नेपालमा यसअघि पेट्रोलमा पनि जिली ब्राण्ड लन्च भएको थियो । तर, उसको उत्पादनले भारतीय कारसँग प्रतिस्पर्धा गर्न सकेन । अहिले समय फेरिएको छ । चिनियाँ उत्पादन निकै गुणस्तरीय लाग्छन् ।

त्यसमा पनि ईभीको बढ्दो बजारमा जिलीले पक्कै नेपालमा राम्रो व्यापार गर्न सक्छ । भर्खर मात्रै नेपाल प्रवेश गरेको कारण ठ्याक्कै बजार यस्तो हुन्छ भन्ने दाबी गर्न कठिन भए पनि केही कुरामा ध्यान दिन सकेको खण्डमा व्यापार राम्रो हुन सक्छ ।

सर्भिस, स्पेयर पार्ट्स र ग्राहकमैत्री योजना तयार पारेर त्यसलाई कार्यान्वयनमा लान सकेको खण्डमा जिलीको बलियो प्रोडक्ट लाइनअपको साथले ब्राण्ड सफल हुनेछ ।


Back_to_top