काठमाडौं । जाडो बढेसँगै शीतलहर बढ्दो छ । मुख्यगरी तराई क्षेत्रका शीतलहरले दैनिक जनजीवन समेत प्रभावित पार्न थालेको हो ।
बाक्लो हुस्सु र चिसोका कारण सवारी साधन चलाउन समेत कठिन हुन थालेको छ । शीतलहरका कारण सडकको अगाडिको दुरी नदेखिने र सडक चिप्लो हुन्छ । जसकारण सवारी दुर्घटना हुने जोखिम धेरै हुन्छ ।
शीतलहरको समयमा सवारी चालक तथा पैदल यात्रुले ध्यान पुर्याउन सके दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न सकिने ट्राफिक प्रहरीको भनाइ छन् । शीतलहरको बेला दुर्घटना न्यूनीकरण गर्न ट्राफिकले चालक र पैदलयात्रुलाई सावधान अपनाउन आग्रह समेत गरेको छ ।
यस्ता छन् ट्राफिकले शीतलहरको समयमा चालक र पैदलयात्रुलाई दिएका ११ टिप्स
१. सवारी साधन चलाउनु भन्दा अगाडि सवारी साधनको अवस्था कस्तो छ चेकजाँच गर्नुपर्दछ । सवारी साधनको वाइपर, हेडलाइट, ब्रेकको अवस्था कस्तो छ, ठिकसँग काम गर्छ कि गर्दैन एकिन गर्नु पर्दछ ।
२. शीतलहरको कारणले गर्दा सडक को सतह चिप्लो हुने र ब्रेक कम लाग्दा सवारी अनियन्त्रित हुने हुँदा सामान्य अवस्थामाभन्दा अझ बढी ब्रेकिङ डिस्ट्यान्स राखी गाडी चलाउनु पर्दछ ।
३. सवारीको गती नियन्त्रित र सीमित हुनुका साथै सडकको घुम्ती तथा मोडहरूमा हर्नको प्रयोग गर्नु पर्दछ ।
४. सवारी चलाउदा चालकले आफ्नो ध्यान सडक, सवारी र यात्रुमा केन्द्रित गर्नु पर्दछ । मोबाइल फोनको प्रयोग गरेर सवारी साधन चलाउनु हुँदैन ।
५. सडकको भिजिबिलिटी कम भएको अवस्थामा फग लाइटको प्रयोग गर्नु पर्दछ ।
६. सडकमा जथाभावी पार्किङ गरेर सवारी साधनहरू छोड्नु हुँदैन । बिग्रिएका सवारी साधनलाई सडकमा नछोडी सुरक्षित स्थानमा लगेर राख्नु पर्दछ ।
७. मोटरसाइकल चलाउदा सकेसम्म सेतो अथवा टल्कने ज्याकेट प्रयोग गर्नुपर्दछ ।
८. सडक क्षेत्र प्रयोग गरेर साँझ र बिहानको वाक नगर्नुहोस ।
९. पैदल यात्रा गर्दा उपलब्ध भएसम्म फुटपाथ तथा आकाशे पुलको प्रयोग गर्नु होला । जेब्रा क्रसिङबाट मात्र बाटो काट्नुहोस् । फुटपाथ नभए सडकको दाहिने किनाराको प्रयोग गरी सावधानीपूर्वक हिँड्नुहोस् ।
१०. सडक मर्मत भइरहेको छ भने स्पष्ट रूपमा देखिने गरी सुचनाबोर्ड राख्नुहोस् ।
११. छिटो गए भन्न सकिन्न विस्तारै गए अवश्य पुगिन्छ भन्दै ट्राफिक नियम आफ्नै सुरक्षाको लागि हो भन्ने कुरा हरबखत मनमा राखेर यात्रा गर्नुहोस् ।

