६ महिनामा वीरगंजमा ५७२ ‘रेल्वे र्‍याक’ सामान भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना (साउन-पुस)मा  वीरगंज सुक्खाबन्दरगाहमा ५७२ रेल्वे र्‍याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा १६ रेल्वे र्‍याक कम हो । गत वर्ष पुससम्म भारत हुँदै ५८८ रेल्वे र्‍याकमार्फत मालसामान नेपाल भित्रिएको हो ।

एक पटकमा रेल्वे र्‍याकमार्फत २० फुट क्षमताको भने ९० वटा कन्टेनर र ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगंजका कार्यालय प्रमुख कमल ज्ञवालीले चालु आवमा भारतबाट रेल्वे र्‍याक आउने क्रममा केही गिरावट आएको बताए ।  भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को कारण रेल्वे र्‍याक आउने क्रम कम भएको उनको भनाइ छ ।

उनका अनुसार चालु आवको साउनमा ९४ र्‍याक, भदौमा ९० र्‍याक, असोजमा १०१ र्‍याक, कात्तिकमा ९१ र्‍याक, मङ्सिरमा ९२ र्‍याक र पुस महिनामा १०४ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान ल्याइएछ ।

चाडपर्व, भारतको विहार राज्यमा भएको निर्वाचन लगायत केही प्रभावित भएको रेल सेवा अहिले क्रमशः सहज हुँदै गएको छ । वीरगंज सुुक्खाबन्दरगाहमा भारतको कोलकत्ता, हल्दिया, विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ । कोलकोत्ताबाट मालबाहक रेल्वे र्‍याक मार्फत वीरगंज सामान ल्याउन करिब ८ र विशाखापटनमबाट करिब १० दिन लाग्ने गर्छ ।

सुक्खाबन्दरगाहमा विशेष गरी स्पन्ज आइरन, रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइला लगायत सामान आयात गर्ने गरिन्छ ।


Back_to_top