काठमाडौं । जापानी कार निर्माता टोयोटाले छैटौं जेनेरेश र्याभफोर एसयूभी युरोपमा सार्वजनिक गरेको छ ।
प्लगइन हाइब्रिड टेक्नोलोजी सहितको नयाँ जेनेरेशन र्याभफोरको प्योर इलेक्ट्रीक रेन्ज १३७ किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई निकै सुधारिएको प्लगइन हाइब्रिड टेक्नोलोजी दाबी गरिएको छ ।
नयाँ जेनेशन टोयोटा र्याभफोरमा कम्पनीले ‘एरेन सफ्टवेयर प्लेटफर्म’ प्रयोगमा ल्याएको छ । उक्त प्लेटफर्मले टोयोटा कनेक्ट इन्फोटेनमेन्ट र अपडेट गरिएको टोयोटा सेफ्टी सेन्स सुइटलाई पावर प्रदान गर्छ ।
कम्पनीले छैटौं जेनेरेशन र्याभफोरमा प्रयोग गरेको अनबोर्ड प्रोसेसर चार गुणा छिटो छ । यसको सहायताले फ्रन्ट क्रस ट्राफिक अलर्ट, रियर भेहिकल अप्रोच इण्डिकेटर र सेकेण्डरी कोलिजन ब्रेक प्रणाली जस्ता उन्नत टेक्नोलोजीलाई तीव्र परिणाम दिन सक्ने बनाएको छ ।

टोयोटाले आफ्नो प्लगइन हाइब्रिड भर्सनमा २२.६८ किलोवाट आवरको ब्याट्री दिएको छ । जुन अघिल्लो मोडलमा भएकोभन्दा ३० प्रतिशतले ठूलो हो । यसले ५० किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । एसी चार्जर पनि यसले ११ किलोवाट क्षमताको सपोर्ट गर्छ ।
अल ह्वील ड्राइभ सिस्टमको साथ आउने गाडीको संयुक्त पावर ३०९ हर्सपावर छ । यसलाई ५.९ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा पुर्याउन सकिन्छ । जुन र्याभफोरको अहिलेसम्मको सबैभन्दा तीव्र दौडने मोडल हो ।

अन्तर्राट्रिय बजारमा नयाँ जेनेरेशन र्याभफोर एसयूभी स्ट्रङ हाइब्रिड, प्लगइन हाइब्रिड र रेगुलर इन्जिनमा पनि उपलब्ध छ । छिट्टै नेपाली बजारमा पनि नयाँ र्याभफोर एसयूभी उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

