७७% सकियो मुग्लिन-पोखरा पश्चिम खण्डको काम, असारसम्म सक्ने

काठमाडौं । पोखरा-मुग्लिन सडक अन्तर्गत पश्चिमखण्ड (जामुने-पोखरा) निर्माणले गति लिएको छ । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित सडकको कामलाई तीव्रता दिइएको हो ।

कुल ३८.७१ किलोटोमिटर लामो यो सडकको भौतिक प्रगति ७७.४७ प्रतिशत पुगेको आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ ।

उनले यो सडकको छिटफुट बाहेकका काम निर्धारित समयमै सकिने बताए । ३८.७१ किमी मध्ये हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको उनले जानकारी दिए ।

त्यस्तै, कुल ३६.३२ किमीको सर्भिस लेनमध्ये हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको उनले बताए । १०५ वटै कल्भर्ट निर्माण भइसकेको छ भने नाली निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए ।

‘जामुने-पोखरा सडकखण्डको काम आगामी असारसम्म सक्ने लक्ष्य छ । सोही अनुसार हाल तीव्र गतिमा काम भइरहेको छ । ३८.७१ किमीमध्ये ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसक्यो । कल्भर्ट निर्माण सकियो । नालाको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

चार लेन सडकतर्फ विजयपुर पुलको आडमा ४०० मिटर र पोखरा विश्वविद्यालय अगाडि १०० मिटरमात्र कालोपत्र गर्न बाँकी रहेको उनको भनाइ छ ।

कालोपत्र भइसकेको सडकमा अहिले ‘रोड मार्किङ’ गर्ने, ‘रोड सेफ्टी ब्यारीअर’ राख्ने लगायतका काम भइरहेको उनले बताए । अहिले तालचोकदेखि डाँडाकोनाक र खैरेनीटारदेखि दुलेगौँडासम्म ‘रोड सेफ्टी ब्यारीअर’ र जामुनेदेखि दुलेगौँडासम्म ‘रोड मार्किङ’को काम भइरहेको उनले बताए । कुल ३८.७१ किमीको पश्चिम खण्डमा २०.५५ किमी चार लेन र १८.१६ किमी ६ लेनमा निर्माण हुनेछ ।

त्यस्तै, यसखण्डमा पर्ने १३ पुलमध्ये १२ वटा (सेती बाहेक) पुल निर्माण सम्पन्न भइसेकेको आयोजना प्रमुख कुँवरले जानकारी दिए ।

सेती पुल भने निर्माणको चरणमा छ । उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो । ‘केबल-स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माणको काम पूरा भइसकेको इन्जिनियर कुँवरले बताए । अहिले सुपर-स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ ।

गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । निर्माण कम्पनीले पुलका लागि चाहिने केबल लगायत सामग्री समयमा ल्याउन नसक्दा पनि काममा ढिलाइ भएको इन्जिनियर कुँवरले बताए । अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत ९४ करोडको ठेक्कामा उक्त पुल निर्माण भइरहेको हो ।

यो सडक चिनियाँ निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको छ ।

मुग्लिन-पोखरा सडक अन्तर्गत पूर्वीखण्ड (आबुखैरेनी-जामुने) भने निर्माण सम्पन्न भई हस्तान्तरण समेत भइसकेको छ ।


Back_to_top