४५ देखि ६० लाख मूल्यका एसयूभीमा कडा टक्कर, भिड्न आउँदै ७ मोडल

काठमाडौं । यसअघि नै निकै प्रतिस्पर्धी मानिएको ४५ लाखदेखि ६० लाख रुपैयाँसम्म मूल्य पर्ने एसयूभी बजारमा दुई साता भित्रै अन्य ७ नयाँ मोडल थपिने भएका छन् ।

यसअघि एमजी एस-फाइभ, बीवाइडी एटो-थ्री एड्भान्स, ओमोडा ई-५, केई एक्सथ्री-प्रो, सेरेस-थ्री जस्ता मोडल थिए । मूल्यको हिसाबले निकै धेरैको रोजाइमा पर्ने यो सेग्मेन्टमा ओमोडा जेको, दीपल, बीवाइडी, लीपमोटर, डोङफेङ नामी र फरथिङले नयाँ मोडल ल्याउन लागेका हुन् ।

एसयूभी सेग्मेन्टमा बढ्दो बजार भएकै कारण धेरैको ध्यान एसयूभी आयातमा केन्द्रीत भएको हो । चीनमा दर्जनौं इलेक्ट्रीक सेडान र ह्याचब्याक कार भए पनि ती सबै नेपाल आएका छैनन् ।

आगामी नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा आउने विभिन्न ब्राण्डका ७ एसयूभीको सम्भावित मूल्य, ब्याट्री साइज र मोटर पावरका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

कुन ब्राण्डले कुन एसयूभी ल्याउँदै

ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल कम्पनीले दुई नयाँ मोडल प्रदर्शनी गर्ने भएको छ । कम्पनीले ल्याउने जेको जे-फाइभ नेपाल आइसकेको छ ।

मिनी ल्याण्ड रोभर भनेर चर्चा सुरू भएको जे-फाइभ मा १५५ किलोवाटको मोटर छ । यसमा ५८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । फ्रन्ट ह्वील ड्राइभ मोटरको साथ बजारमा आउने जे-फाइभको मूल्य ५५ देखि ६० लाख रुपैयाँ हाराहारी रहने अनुमान छ ।

दीपल एस-०५ नेपाल आइसकेको अर्को क्रसओभर एसयूभी हो । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । ब्याट्री भने ५७ किलोवाट आवरको पाउन सकिन्छ । एमएडब्लू वृद्धिले बिक्री गर्ने दीपल एस-०५ को मूल्य ५५ देखि ६० लाख भित्रै रहने अनुमान छ ।

लीपमोटरको दोस्रो एसयूभी बी-१० पनि नेपाल आइसकेको छ । कम्पनीले हिजो मिडियालाई बी-१० देखाइसकेको छ । यसमा १६० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । ६७ किलोवाटको निकै ठूलो ब्याट्रीमा उपलब्ध बी-१० को टप भेरियन्टलाई साँग्रिला मोटर्सले ५५ देखि ६० लाख रुपैयाँ हाराहारीमा बिक्री थाल्नेछ ।

डोङफेङ नामी-०६ पनि नाडा अटो शोमा प्रदर्शनी र बिक्री सुरू हुने मोडल हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउन लागेको नामी-०६को टप भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री रहनेछ । साथै, यसमा ९९ किलोवाटको मोटर हुनेछ । एमएडब्लू वृद्धिले यसको मूल्य ५० लाख भित्रै राख्ने अनुमान गर्न सकिन्छ ।

लक्ष्मी इमोबिलिटीले फरथिङ फ्राइडे मोडल नाइमा मोबिलिटी एक्स्पोबाट सार्वजनिक गर्दैछ । कम्पनीले ९९ किलोवाटको मोटरमा ल्याउने फ्राइडे मोडलमा ६४ किलोवाट आवरको ब्याट्री रहने छ । यसको मूल्य पनि ६० लाख हाराहारी हुनेछ ।

बीवाइडी एटो-टु अर्को यही सेग्मेन्टमा आउने एसयूभी हो । साइमेक्स इंकले ५१.३ किलोवाट आवरको ब्लेड ब्याट्रीमा ल्याउने एटो-टुमा १०० किलोवाटको इलेक्ट्रीक मोटर रहने अनुमान गरिएको छ । आधिकारिक बिक्रेता साइमेक्स इंकले यसको विषयमा जानकारी दिएको छैन । यसको मूल्य ४५ लाख हाराहारी रहनेछ ।

आइकार भी-२३ पनि नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदैछ । एसपीजी अटोमोबाइलले नै ल्याउने भी-२३ नेपालमा जेको ब्राण्ड भित्रै आउने अनुमान गर्न सकिन्छ । यस विषयमा कम्पनीले आधिकारिक धारणा बाहिर ल्याएको छैन । यसमा १०० किलोवाटको मोटर र सम्भवतः ५९ किलोवाटको ब्याट्री साइजमा आउन सक्नेछ ।

 


Back_to_top