काठमाडौं । हामीले सडकमा सवारी चलाउँदा आफू यात्रा मात्र गर्ने होइन, कर्तव्य पनि निर्वाह गर्नुपर्छ । अर्थात् अनुशासित भई तोकिएका नियम, कानुन पालना गर्दै सुरक्षित ड्राइभिङ गर्नुपर्छ ।
प्रायःजसो अधिकांशले चालकहरूले सवारी चलाउँदा केही न केही गल्ती गरिरहेकै हुन्छन् । जसका कारण कहिले काहीँ समस्यामा परिने र दुर्घटना समेत हुन सक्छ ।
साना साना कुरालाई समेत वेवास्ता गर्दा ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । जुन चालकका लागि आर्थिक र मानवीय हिसाबले समेत निकै मँहगो सावित हुन सक्छ ।
यदि तपाईंं सधैं आफैं ड्राइभ गरी यात्रा गर्नु हुन्छ भने धेरै कुरा ख्याल गर्नुपर्छ, जानकारी हुनैपर्छ । जसले गर्दा तपाईंंको धनजनको सुरक्षा हुनेछ । सडक नियम पालना गरी सवारी चलाउनु र जथाभावी चलाउनुमा ठूलो अन्तर हुन्छ । पूर्ण नियम पालना गर्दा यात्रा सुरक्षित हुन्छ, अन्य सवारी र पैदल यात्रुलाई सहयोग पुग्छ । साथै, ट्राफिक जाममा समेत कमी ल्याउन सकिन्छ ।
यहाँ हामीले असल कार चालकमा हुनैपर्ने ७ गुणका बारेमा चर्चा गरेका छौं ।
१. ट्राफिक नियमको पालना गर्ने
असल चालकले हर समयमा ट्राफिक नियमको पालना गर्नुपर्छ । जसले आफू र अरुको पनि यात्रा सुरक्षित बनाउँछ । सडक अनुशासन पालना गरेमा सबैलाई सजिलो हुन्छ ।
चालकले ट्राफिक चिह्नको सही तरिकाले प्रयोग गरेमा दुर्घटनाबाट जोगिन सकिन्छ । सडकमा रहेको साइनबोर्डरलाइट अनुसार सवारी चलाउने, पैदल यात्रुले जेब्रा क्रसिङमा बाटो काट्दै छ भने रोकेर सडक पार गर्न दिने, देब्रे साइडबाट कहिले पनि ओभरटेक नगर्ने लगायत नियम पालना गर्नुपर्छ । सडक अनुशासन अक्षरस पालना गर्नु असल चालकको कर्तव्य पनि हो ।
२. सिटबेल्ट सधैं लगाउने
गाडीमा हुने सिटबेल्ट सडकमा ड्युटी गर्ने ट्राफिक प्रहरीका लागि नभई तपाईं हाम्रै सुरक्षाको लागि कारमा दिएको हो । तर धेरै चालकहरूले सिटबेल्टलाई झन्झटका रूपमा लिने गरेको देखिन्छ । तर चालक र कारका अन्य यात्रुहरूले सिटबेल्टको प्रयोग गरेका छैनन् भने दुर्घटनाको समयमा घातक चोटपटक लागि मृत्यु समेत हुन सक्छ । कतिपय कारमा सिटबेल्ट नलगाएको अवस्थामा यात्रुको सुरक्षाको लागि रहेको एयरब्याग समेत खुल्दैन । यसकारले राम्रो चालक बन्न चाहनुहुन्छ भने सधै सिटबेल्टको प्रयोग गर्नूहोला ।
३. साइड लाइटको प्रयोग
कारको चारै कुनामा पहेँलाे कलरमा बल्ने साइड लाइट दिएको हुन्छ । यी लाइटको काम अगाडि वा पछाडिका गाडिहरूलाई आफ्नो कार मोड्न चाहेको दिशाका बारेमा अग्रिम जानकारी दिनु हो । तर कतिपय चालकहरूले टर्नलाईट नबालीकनै गाडिलाई दायाँ वा बायाँ मोड्ने बानि रहेको देखिन्छ । यदि टर्नलाईट नबालिकनै गाडि टर्न गरियो भने अर्को गाडिसँग ठोकिने वा दुर्घटना समेत हुनसक्छ । त्यसैले असल चालक हुनको लागि सधै दाँया वा बाँया मोड्नु अघि सधै टर्नलाइट बाल्नु पर्छ ।
४. विण्डसिल्डको ध्यान राख्नु
चालकले अगाडिको बाटो हेर्न वा देख्नको लागि कारको फ्रण्टमा रहेको विण्डसिल्डको विशेष महत्व हुन्छ । यदि विण्डसिल्डमा कुनै पनि प्रकारको फोहोर, बाफ वा क्रयाक छ भने अगाडिको भिजन राम्रोसँग देखिँदैन । भिजन कम भएपछि चालकको ध्यायान समेत अन्यत्र मोडिने सम्भावना हुन्छ । त्यसैले असल चालक हुनको लागि विण्डसिल्ड सधै सफा र दुरुस्त राख्नु पर्छ ।
५. मोबाइल फोनको प्रयोग नगर्ने
आजकल मोबाइल फोन मानिसको अभिन्न अंगको रूपमा स्थापित भईसकेको छ । फोनको मुख्य कार्य कुरागर्ने भन्दा पनि अन्य कार्यका लागि फोनको प्रयोग धेरै हुने गरेको छ । म्यासेज टाइप गर्ने, इमेल चेक गर्ने, भिडियो च्याट गर्ने तथा सोसियल मिडिया चलाउन फोन धेरै प्रयोग हुन्छ । गाडी चलाइरहेको अवस्थामा मोबाइल फोनमा यस्ता कार्य कदापि गर्नु हुँदैन ।
६. ओभर स्पीड नगर्ने
सही तरिकाले कार चलाउनु भनेको स्पीडमा चलाउने कदापि होइन । अझ सहरी क्षेत्रमा ट्राफिकले तोकेको स्पीड लिमिट भन्दा बढि स्पीडमा कार चलाउनु हुँदैन । तोकिएकोभन्दा बढि स्पीडमा कार चलाउँदा आफ्नो र सडकमा गुडिरहेको अन्य सवारीका साथै पैदल यात्रीलाई समेत खतरा हुन्छ । हाइवेमा ओभर स्पीड हुदाँ त झन ठूला ठूला दुर्घटना भई चालक र यात्रुहरूको ज्यानै समेत गुमाउनु पर्नसक्छ । त्यसैले आफ्नो कारलाई ओभर स्पीडमा चलाउनु हुँदैन । असल चालकले सधैं तोकिएको गतिमा सवारी चलाउनु पर्छ ।
७. निषेध गरिएका कुरा सेवन नगर्ने
चालकका खानपिनका कारण हुनसक्ने जोखिमका मध्येनजर गर्दै केही खानेकुरा निषेध गरिएको छ । चालकले मनोरञ्जनका नाममा ड्राइभिङ गर्नु अघि र गरिरहेको अवस्थामा लागू पद्धार्थ, माद्धक पद्धार्थ लगायत सेवन गर्नु हुँदैन । यसले चालकको ध्यान र शारीरिक हाउभाउ परिवर्तन ल्याउँछ । जसकारण दुर्घटना निम्तिन सक्छ ।
यी नियम कार चालकसँगै अन्य सवारी चालकले पनि पूर्ण रूपमा पालना गर्नुपर्छ ।

