मोटरसाइकलको इन्जिनको धड्कन ‘आरपीएम’, किन छ खास

काठमाडौं । सामान्यता मानिसहरू मोटरसाइकलको बारेमा कुरा गर्दा डिजाइन, सीसी, पावर, टर्क, सिलिण्डरको संख्या, कुलिङ लगायतको चर्चा गर्छन् । किनभने यिनै पार्टसले समग्र मोटरसाइलकको मुख्य जानकारी गराउँछ । नयाँ किन्ने योजनामा रहेका वा चढिरहेका सबैलाई आफ्नो मोटरसाइकल कस्तो छ भन्ने थाहा दिन्छ ।

तर, मोटरसाइकलकै चर्चा गर्दा सबैले छुटाउने अर्को एउटा महत्वपूर्ण पार्टस हो, ‘आरपीएम’ । जुन पावर र टर्क डेलिभरीसँगै जोडिन्छ । यसबारे धेरैले खासै चर्चा गरेको सुन्दैनौं । आज यहाँ हामीले त्यही आरपीएमका बारेमा चर्चा गरेका छौं ।

के हो आरपीएम ?

आरपीएमको पूरा अर्थ ‘रेभोलुसन्स पर मिनेट’ हो । यसले मोटरसाइकल कतिको फास्ट गुडिरहेको छ भनेर नाप्ने काम गर्छ ।

उदाहरणका लागि, यदि एउटा पंखाले एक मिनेटमा १०० पटक फन्को मार्छ भने यसको गति १०० आरपीएम हुन्छ । मोटरसाइकलमा इन्जिनको भित्र क्रयाकंशफ्ट प्रविधि दिइएको हुन्छ । क्रयाकंशफ्टले पनि यसरी नै काम गर्छ । यो निकै फास्ट हुन्छ । यसले पिस्टनको तल माथि गर्ने चाललाई घुम्ने गतिमा परिवर्तन गर्छ । जसले मोटरसाइकलको पछाडिको टायरलाई घुमाउँछ ।

मोटरसाइकलको आरपीएमले एक मिनेटमा क्रयाकंशफ्ट कति पटक घुम्छ भन्ने कुरा बताउँछ । त्यसैले यसलाई ‘इन्जिन स्पीड’ पनि भनिन्छ । आरपीएम नाप्ने उपकरणलाई ट्रयाकोमिटर भनिन्छ । जुन इन्जिन सुरू गर्ने बित्तिकै चल्न थाल्छ । आरपीएमले मोटरसाइकलको क्यारेक्टरलाई समेत परिभाषित गर्दछ ।

आरपीएम किन महत्त्वपूर्ण छ ?

आरपीएमको महत्व बुझ्न पहिला ‘इन्टरनल कम्बस्चन इन्जिन’(आइसीई) को बारेमा बुझ्न आवश्यक छ । जब इन्जिन भित्र इन्धनको काम सुरू हुन्छ त्यो बाट फैलिएको ग्यासले पिस्टनलाई तल धकेल्छ र क्रयाकंशफ्टलाई घुमाउँछ । पिस्टनको यो चाललाई ‘पावर स्ट्रोक’ भनिन्छ । क्रयाकंशफ्टको एक छेउमा ‘फ्लाइह्वील’ जोडिएको हुन्छ, जसले ऊर्जा भण्डारण गर्छ । र, क्रयाकंशफ्टलाई लगातार घुम्न मद्दत गर्छ ।

जब इन्जिन भित्र क्रयाकंशफ्ट छिटो घुम्छ इन्जिनले निश्चित समयमा धेरै पटक कम्बस्चन राउण्ड पूरा गर्छ । जसले धेरै पावर स्ट्रोकहरू जेनेरेट हुन्छ । यसले गर्दा नै इन्जिनको पावर आउटपुट बढ्छ र इन्धनको खपत पनि बढी हुन्छ । आरपीएम डाइरेट पावर, टर्क डेलिभरी, इन्धन खपत र इन्जिनको मेकानिकल स्ट्रेससँग जोडिएको हुन्छ ।

आरपीएम पावरब्याण्ड

मोटरसाइकलको आरपीएम बढ्दै जाँदा इन्जिनले सामान्यतया बढी पावर जेनेरेट गर्छ, तर एउटा निश्चित बिन्दुसम्म मात्र । हरेक इन्जिनलाई एक विशेष आरपीएम रेन्ज भित्र सबैभन्दा प्रभावकारी पावर र टर्क उत्पादन गर्न डिजाइन गरिएको हुन्छ, जसलाई ‘पावरब्यान्ड’ भनिन्छ । यस रेन्जमा पुग्दा तपाईंको मोटरसाइकल सबैभन्दा बढी पावरफुल र प्रभावकारी भएको महसुस हुन्छ ।

यदि कुनै मोटरसाइकलले ६००० आरपीएममा हाई टर्क र ८००० आरपीएममा अधिकतम पावर दिन्छ भने, यसको पावरब्याण्ड ६००० देखि ८००० आरपीएमको बीचमा हुन्छ । यो रेन्जमा मोटरसाइकल चलाउँदा ओभरटेक गर्न वा स्पीड बढाउन निकै सजिलो हुन्छ ।

आरपीएम रेडलाइन

रेडलाइन भनेको अधिकतम हाई आरपीएमको सीमा हो । जसमा इन्जिन स्पीडलाई त्यो भन्दा माथि चलाउन मिल्दैन । इन्जिनका पार्टपुर्जाहरू निश्चित भार थाम्न डिजाइन गरिएका हुन्छन् । यदि त्यो सीमाभन्दा बढी आरपीएममा चलाइयो भने इन्जिन बिग्रन सक्छ । त्यसैले धेरै आधुनिक मोटरसाइकलहरूमा भने ‘रेभ लिमिटर’ राखिएको हुन्छ, जसले इन्जिनलाई रेडलाइन भन्दा माथि जानबाट रोक्छ ।

आरपीएम र पावरसँग टर्कको समीकरण

के तपाईंले उस्तै क्षमता (सीसी) का इन्जिन भए तापनि फरक–फरक पावरब्याण्ड भएको देख्नुभएको छ ? कतिपय मोटरसाइकलले निकै कम आरपीएममै राम्रो पिक टर्क दिन्छन् । कतिपयले धेरै उच्च आरपीएममा मात्र राम्रो पावर दिन्छन् । यी दुई बीचको सन्तुलन मिलाइएका धेरै मोटरसाइकलहरू पनि बजारमा छन् । यो समीकरण इन्जिनको बनावट, सिलिण्डर र पिस्टनको ‘बोर’ र ‘स्ट्रोक’ मा भर पर्छ ।

 

त्यसैगरी, लंङ स्ट्रोक भएको इन्जिनले क्रयाकंशफ्टमा बढी टर्क जेनेरेट गर्छ, र त्यो पनि कम आरपीएममै हुन्छ । तर यस्ता इन्जिनहरूलाई धेरै हाई आरपीएममा चलाउन सकिँदैन । किनभने यसमा पिस्टनले हरेक राउण्डमा लामो दूरी तय गर्नुपर्ने हुन्छ, जसले गर्दा पिस्टनको स्पीड धेरै हाई हुन जान्छ र इन्जिनको स्पीड बढ्दा मेकानिकल दबाब पनि बढ्छ ।

यदि टर्कभन्दा बढी पावर चाहिएको छ भने, ‘कम्बस्चन स्ट्रोक’ को हाई रेपिटियसन चाहिन्छ । त्यसका लागि इन्जिनलाई हाई आरपीएममा चल्न सक्ने गरी डिजाइन गर्नुपर्छ, जुन ‘सर्ट स्ट्रोक’ भएको इन्जिनमा मात्र पाइन्छ । मोटरसाइकलमा दिइएको इन्जिन फरक फरक आरपीएम रेन्जको लागि डिजाइन गरिएको हुन्छ ।

लङ स्ट्रोक (कम आरपीएम) वर्गको इन्जिन

लङ स्ट्रोक इन्जिन तुलनात्मक रूपमा कम आरपीएम रेन्जमा चल्नका लागि डिजाइन गरिएको हुन्छ । यो इन्जिनको मुख्य काम सुरूवातमै राम्रो टर्क डेलिभरी गर्नु हो । यो प्रायः क्रुजर तथा टुरर मोडलका मोटरसाइकलहरूमा प्रयोग गरिन्छ ।

सर्ट स्ट्रोक (हाइ आरपीएम) वर्गको इन्जिन

यो इन्जिन हाइ रेभका लागि बनाइएको हुन्छ । यसमा आरपीएम निकै छिटो बढ्छ । छोटो स्ट्रोक हुने भएकाले यो इन्जिनले हाइ पावर सहजै जेनेरेट गर्छ । हाइ पावर जेनेरेट गर्ने भएकाले यो ठूला सीसी भएका स्पोर्ट तथा नेकेड डिजाइनका मोटरसाइकलमा प्रयोग गरिन्छ ।

‘स्क्वायर’मध्यम आरपीएम वर्गको इन्जिन

यो इन्जिनमा प्रायः बोर र स्ट्रोकको आकार लगभग समान हुन्छ, त्यसैले यसलाई ‘स्क्वायर’ इन्जिन भनिन्छ । यसको पावरब्याण्ड सामान्यतया लो एण्ड हाइ आरपीएम इन्जिनको बीचमा पर्छ । जसले पावर, टर्क र इन्धन खपत बीचको सन्तुलन उत्कृष्ट बनाइराख्छ । यो इन्जिन साना क्षमताका कम्प्युटर सेग्मेन्ट, स्ट्रिट र टुरिङ जस्ता मोटरसाइकलमा प्रयोग हुन्छ ।


Back_to_top