बाढीपहिराले देशका ९ मुख्य राजमार्ग बन्द, कहाँ कहाँ छ अवरोध ?

फाइल तस्बिर ।

काठमाडौं । बाढीपहिरोका कारण देशभरका ९ मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका ९ सडक अवरुद्ध रहेका हुन् । त्यस्तै, ४ सडक एकतर्फी मात्र संचालनमा छन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । इलामको राजदुवालीमा सडक भासिँदा झापादेखि ताप्लेजुङसम्मको सडक बन्द भएको हो ।

त्यस्तै, पहिरोको कारण पाँचथरको राँके-रवि-भेडेटार सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ । मध्य पहाडी लोकमार्गको भोजपुर र खोटाङमा भने पहिरोका कारण एकतर्फी मात्र सुचारु रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशको सिन्धुपाल्चोकमा अरनिको राजमार्गको जिरोकिलो र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको सम्भावनाका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । यस्तै, कान्ति लोकपथको मकवानपुर खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।

रसुवाको पासाङ ल्हामु सडक खण्ड एकतर्फी मात्र संचालनमा रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको बागलुङको बेलीबगरमा पहिरो आउँदा कालीगण्डकी करिडोर र गोरखाको धार्चे गाउँपालिका लिदिङमा पहिरोका कारण आरुघाट-माछीखोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

कर्णाली प्रदेशको जाजरकोटको नलगाड नगरपालिका ८, बगरमा पहिरो खस्दा भेरी करिडोर (जाजरकोट-डोल्पा सडक) पूर्ण रूपमा बन्द भएको छ।


Back_to_top