पुराना डिजेल/पेट्रोल गाडीलाई ईभीमा ‘कन्भर्ट’ गर्न कानुन बनाउने निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पद्धार्थ (डिजेल/पेट्रोल)बाट चल्ने पुराना गाडीलाई विद्युतीय सवारी (ईभी)मा कन्भर्ट गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ । आइतबार (चैत २२ गते) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

हाल स्पष्ट कानुन नहुँदा पुराना कम्बस्चन गाडी ईभीमा रुपान्तरण गर्न सक्ने अवस्था छैन । त्यसैलाई मध्येनजर गर्दै सरकारले पुराना कम्बस्चन गाडीलाई ईभीका कन्भर्ट गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पुराना गाडीलाई ईभीमा कन्भर्ट गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।

‘डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्री पोखरेलले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने ।

हाल कानुन नहुँदा पुराना डिजेल/पेट्रोल गाडी कवाडीमा फाल्नुपर्ने बाध्यता छ । पुराना कम्बस्चन गाडीलाई ईभीमा कन्भर्ट गर्न आवश्यक मापदण्डहरू तोकिएको छैन ।जसकारण सवारीधनीले आफ्नो पुरानो गाडी कवाडीमा बेच्दै आएका छन् ।

यद्यपि, सरकारले गत मंसिरमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी ३ वर्षसम्मका लागि कम्बस्चन गाडीलाई ईभीमा कन्भर्ट गर्न पाउने बाटो खुलाएको थियो । तर, आवश्यक कानुन नहुँदा काम अघि बढ्न सकेको थिएन ।

पुराना गाडीलाई ईभीमा कन्भर्ट गर्न स्पष्ट मापदण्ड चाहिन्छ । कन्भर्ट हुने गाडीमा कस्तो ब्याट्री र मोटर प्रयोग गर्ने, ब्याट्री व्यवस्थापन, सवारीको तौल सन्तुलन गर्ने तरिका, इन्जिन नम्बरको ठाउँमा मोटर नम्बर लेख्ने प्रावधान, कन्भर्ट केन्द्र (वर्कशप)को मापदण्ड, आवश्यक जनशिक्तको, कमन्भर्ट भइसकेपछि चेकजाँच गर्ने मापदण्ड आवश्यक छ ।

त्यस्तै, पुराना गाडी ईभीमा कन्भर्ट गरेपछि लाग्ने दर्ता प्रक्रिया, दर्ता तथा नवीकरण शुलक, कनभर्ट गरिएका गाडीको बीमा सम्बन्धी व्यवस्था गर्नुपर्नेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले पुराना गाडीलाई ईभीमा कन्भर्ट गर्ने सम्बन्धी कानुन चाँडै निर्माण गरिने बताए । उनले यातायात व्यवस्था विभाग लगायत सरोकारवाला निकायहरूसँग छलफल गरी कानुनी निमार्ण प्रक्रिया अघि बढाइने बताए ।

‘मन्त्रिपरिषद्ले आज नीतिगत निर्णय गरेको छ । अब मन्त्रालयमा औपचारिक निर्देशन आउँछ । त्यसपछि यातायात व्यवस्थता विभाग लगायत सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक कानुन बनाउने प्रक्रिया अघि बढाइन्छ,’ उनले भने ।

सरकारले हाल नयाँ ईभीको प्रयोग बढाउन करमा सहुलियत दिँदै आएको छ । त्यसैगरी पुराना गाडीलाई ईभीमा कन्भर्ट गर्न प्रोत्साहन गर्न सहुलियत दरमा ऋण, कर छुट लगायत प्रोत्साहन नीति ल्याउन आवश्यक देखिन्छ ।

पुरानो गाडीलाई ईभीमा परिवर्तन गर्दा सरकारसँगै सवारीधनीलाई समेत फाइदा पुग्छ । यसले पेट्रोलियम पद्धार्थको खपत घटाउन, वातावरण प्रदूषण नियन्त्रण गर्न र नवीकरणीय ऊर्जाको प्रयोग बढाउन सहयोग पुर्याउँछ ।


Back_to_top