रोकियो तीन मोडलको विक्री सुरु गर्ने महिन्द्राको तयारी

काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले तीन मोडलको विक्री सुरु गर्ने तयारी गरेको थियो । कम्पनीको तयारीमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले लगाएको आयत प्रतिबन्ध बाधक बनेको हो ।

लामो सयमदेखि नेपाल ल्याउने तयारी चलिरहेको एक्सयूभी ७००, बोलेरो नियो जस्ता मोडल नेपालमा विक्री सुरु हुन सकेको छैन । साथै, अग्नीले एक्सयूभी ३०० को पनि पुनः लन्च गर्ने तयारी गरेको थियो ।

कम्पनी स्रोतका अनुसार अब यी सबै मोडल सम्भवत दशैंको आसपासमा मात्रै बजारमा आउने छ ।

‘असारसम्म पूर्णरुपमा आयात बन्द गरिएको छ । साउनबाट एलसी खुल्ने हो भने दशैं अगाडि गाडी ल्याउन हाम्रो प्रयास रहन्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

महिन्द्रा एक्सयूभी ३०० दुई वर्षअघि नेपालमा सार्वजनिक भएको थियो । सुरुवातमा यसले निकै राम्रो प्रतिक्रिया पाएपनि सप्लाईमा समस्या हुँदा राम्रो ब्यापर गर्न सकेको थिएन । निकै प्रतिस्पर्धी सेग्मेन्टमा भएको कारण यसको मूल्यलाई लिएर पनि ग्राहकको असन्तुष्टी थियो । कम्पनीले यसलाई पुनः बजारमा ल्याउँदा मूल्यसमेत निकै प्रतिस्पर्धी बनाउने तयारी गरेको थियो ।

बोलेरो नियो यसअघि नेपालमा विक्री भएको टीयूभी ३०० को फेसलिफ्ट मोडल हो । महिन्द्राले आफ्नो निकै बलियो नेम प्लेट बोलेरोमा यसलाई ल्याएर उपभोक्ताको मन जित्ने प्रयत्न गर्न लागेको हो । यसलाई पनि नेपाली बजारमा चाँडै विक्री सुरु गर्ने योजना कम्पनीले बनाएको थियो ।

महिन्द्राको बलियो एसयूभी सेग्मेन्टमा आएको एक्सयूभी ७०० नयाँ गेमचेन्जर मोडल हो । कुनै समय स्कर्पियोले महिन्द्राको एसयूभीमा ठूलो परिवर्तन ल्याएको थियो । अहिले आधुनिक एसयूभीमा यसको उपस्थितिले महिन्द्रालाई बलियो बनाएको देखिन्छ । भारतमा धेरै अगाडिबाट विक्री सुरु भएको यो मोडल पनि तत्काल नेपाल आउने सम्भावना सकिएको छ । कम्पनीले यसलाई पनि अब आगामी नाडा अटो शो २०२२ मा सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top