काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोको थर्ड जेनेरेसन डस्टर एसयूभी सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा अल न्यू रेनो डस्टरको ११ भेरियन्ट बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ डस्टरको आधिकारिक सुरूआती मूल्य १० लाख ४९ हजार भारु (एक्स शोरुम) तोकेको छ । तर, कम्पनीले हाललाई विशेष छुटमा १० लाख २९ हजारमै उपलब्ध गराउने भएको छ । यसको टप भेरियन्टको मूल्य १८ लाख ४९ हजार भारु तोकिएको छ ।
यसको टर्बो पेट्रोल भेरियन्टको डेलभरी आगामी अप्रिलदेखि र हाइब्रिडको दीपावलीदेखि हुने कम्पनीले जनाएको छ । फ्रेन्च कार निर्माताले उत्पादन बन्द गरेको झण्डै ४ वर्षपछि रेनो डस्टरको अल न्यू जेनेरेसन मोडल बजारमा ल्याएको हो ।
२०२६ डस्टरले अन्तर्राष्ट्रिय मोडेलको समग्र डिजाइन जोगाउँदै केही लोकल परिमार्जन गरेको छ । यसको अगाडिको भागमा आँखीभौं शैलीका डीआरएल, लोगो बिना ‘डस्टर’ लेखिएको ठूला ग्रिल, सिल्भर बम्पर र पिक्सेल आकारका फग ल्याम्पहरू राखिएको छ ।
साइडमा कालो बडी क्ल्याडिङ, सी पिलरमा पछाडिका ढोकाका ह्याण्डल, ५० केजी भार वहन क्षमतायुक्त रूफ रेल, १८ इन्चको अलोय ह्वील र २१२ एमएको ग्राउण्ड क्लियरेन्स छ ।

पछाडि जोडिएको एलईडी लाइट बार, रूफ-माउन्टेड स्पोइलर र सिल्भर एक्सेन्टसहितको कालो बम्परले आक्रामक रूप दिन्छ। यसको एप्रोच र डिपार्चर एंगल क्रमशः २६.९ डिग्री र ३४.७ डिग्री छन्।
यसको लम्बाइ ४३४६ एमएम, चौडाइ १८१५ एमएम, उचाइ १७०३ एमएम र ह्वीलबेस २६५७ एमएम छ ।
यसको इन्टेरियरमा पूर्ण रूपमा रि डिजाइन गरिएको ड्यासबोर्ड, डुअल स्क्रीन सेटअप, सफ्ट टच मेटेरियल्स, सिल्भर सजावट समावेश छ । तर मुख्य कार्यहरूका लागि फिजिकल बटन यथावत राखिएका छन्। यसमा स्लाइडिङ अगाडिको आर्मरेस्ट र कप-होल्डरसहितको पछाडिको आर्मरेस्ट पनि छ ।
यसमा १०.१ इन्च टचस्क्रीन (वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहित), १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जर, डुअल जोन क्लाइमेट कन्ट्रोल, पावर टेलगेट र भेन्टिलेटेड सिट छन् ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, अगाडि-पछाडि पार्किङ सेन्सर, टायर प्रेशर मनिटरिङ सिस्टम इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारवटा पाँग्रामा डिस्क ब्रेक र लेभल २ एडास फिचर छन् ।
नयाँ रेनो डस्टर दुई वटा टर्बो-पेट्रोल इन्जिन र हाइब्रिड पेट्रोल पावरट्रेनमा उपलब्ध छ । यसमा सानो काइगरबाट लिइएको १.० लिटर र १.३ लिटरको टर्बो पेट्रोल इन्जिन विकल्प उपलब्ध छ । जसले क्रमशः १०० हर्षपावर र १६३ हर्षपावर शक्ति प्रदान गर्छ । दुवै इन्जिनसँग ६ स्पीडको म्यानुअल गियर बक्स छ । ठूलो इन्जिनसँग ६ स्पीडको ड्युअल क्लच ट्रान्समिसन उपलब्ध छ ।

त्यस्तै, हाइब्रिड मोडलमा १.८ लिटरको स्ट्रोङ हाइब्रिड पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर छ । जसले संयुक्त रुपमा १६० हर्षपावर शक्ति दिन्छ ।
रेनोल्ट डस्टरले हुन्डाई क्रेटा, टाटा सिएरा, किया सेल्टोस, स्कोडा कुशाक र होण्डा एलिभेट जस्ता मिड साइज एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
भारतीय बजारमा लन्च भएसँगै नयाँ डस्टर नेपाली बजारमा पनि चाँडै आउन सक्ने सम्भावना छ ।

