काठमाडौं । अब सार्वजनिक पूर्वाधार निर्माणमा प्रयोग भएका सवारीसाधन निर्माणस्थलबाट बाहिरिँदा हिलो, धुलो पखालेर मात्र बाहिर निस्कनुपर्ने भएको छ ।
मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७४औं बैठकले यस्तो निर्णय गरेको हो ।
निर्माण कार्यबाट उत्पन्न हुने धुलो तथा हिलो नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको हो ।
त्यस्तै, बैठकले निर्माण स्थल र वरपरका सडक तथा स्थानमा धुलो नियन्त्रणका लागि आवश्यकता अनुसार पानी छर्कने व्यवस्था गर्नेुपर्ने निर्णय गरेको हो ।
‘निर्माणस्थलबाट बाहिरिने सवारीसाधनलाई धुलो तथा हिलो सफा गरेर मात्र बाहिर निस्कने व्यवस्था मिलाउने तथा निर्माण स्थल र वरपरका सडक तथा स्थानमा धुलो नियन्त्रणका लागि आवश्यकताअनुसार पानी छर्कने व्यवस्था गर्ने,’ बैठकको निर्णयमा भनिएको छ ।
त्यसैगरी, बैठकले सार्वजनिक निर्माण कार्यबाट उत्पन्न हुने धुलो तथा हिलो नियन्त्रणका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित संघीय तथा प्रदेश मन्त्रालयहरू, सम्बन्धित निकाय तथा स्थानीय तहका कार्यालयले आ-आफ्नो कार्यक्षेत्रभित्र संचालनमा रहेका निर्माण कार्यको नियमित सुपरीवेक्षण गर्ने निर्णय पनि गरेको छ ।


