काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेल प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको सभापति बन्ने भएका छन् ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले पूर्वाधार समितिको सभापतिमा उनको नाम प्रस्ताव गरेको हो ।
गजुरेल पूर्वाधार तथा यातायात विज्ञ हुन् । उनी सिन्धुली क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।
पूर्वाधार विकास समितिको कार्यक्षेत्र भौतिक पूर्वाधार तथा यातायात, संचार तथा सूचना प्रविधि, शहरी विकास र खानेपानी मन्त्रालय र यी अन्तर्गतका विभाग, निकाय, आयोजना तथा सार्वजनिक संस्थानहरू पर्दछन् ।
यो समितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने मन्त्रालयहरूसँग सम्बन्धित विधेयकहरूमाथि दफावार छलफल गर्ने र त्यसलाई परिमार्जनसहितको प्रतिवेदन सदनमा पेस गर्ने गर्दछ ।
साथै, सरकारले ल्याएको वार्षिक बजेट, नीति तथा कार्यक्रमहरूको समीक्षा र मूल्याङ्कन, विभिन्न आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण, काममा ढिलासुस्ती भएमा सरकारलाई निर्देशन दिने लगायत काम गर्छ ।
रास्वपा संसदीय दलको आजको बैठकले १२ वटा संसदीय समितिका सभापतिको नाम टुंगो लगाएको छ । संघीय संसद्मा १६ वटा संसदीय समिति रहेका छन् । जसमा प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ वटा र २ वटा संयुक्त रहेका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति र संसदीय सुनुवाइ समिति भने संयुक्त समिति हुन् ।


