ईभीमा चीनले चकित बनायो, नेपालले फाइदा उठायो

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी)को व्यवसायिक उत्पादन जापानी ब्राण्ड टोयोटाले थालेको थियो । सन् १९९७ मा उसले आफ्नो चर्चित एसयूभी र्‍याभफोरलाई ईभीमा ल्याएर बजारमा सम्भावनाको संकेत दियो ।

सन् १८३२ देखि नै विद्युतीय सवारी साधनको विकासमा काम भइरहेको थियो । तर, सन् १८९० मा विलियम मोरिसनले इलेक्ट्रीक बहान बनाएर ६ जना यात्रु बोक्न सक्ने क्षमता ईभीमा देखएपछि विश्वभर इलेक्ट्रीक भेहिकलको चासो बढेको हो ।

अमेरिकी नागरिकको इलेक्ट्रीक भेहिकल प्रतिको चासो पूरा गर्न फोर्ड, जनरल मोटर्स जस्ता कम्पनीले प्रयास गरे पनि साकार हुन सकेको थिएन । जापानी ब्राण्ड टोयोटाले सन् १९९७ मा र्‍याफोर ईभी अमेरिकाको लागि नै बनाएको थियो । सीमित युनिटपछि टोयोटाले पनि ईभी विकासलाई प्राथमिकतामा राखेन ।

सन् २००३ मा मात्रै अहिले विश्वकै चर्चित इलेक्ट्रीक कार ब्राण्ड टेस्ला स्थापना भएको हो । टेस्लाको स्थापनापछि अमेरिकी नागरिकाले ईभीको वास्तविक प्रयोग गर्न पाए ।

अमेरिकामा ईभीको चर्चा भइरहँदा चीन भने आन्तरिका द्धन्द्धमा थियो । उसको प्राथमिकता देशमा शान्ति बहाली गर्ने र विकासको दौडमा सामेल हुनेमै केन्द्रित थियो । पछिल्ला ५ दशकमा चीनले हरेक क्षेत्रमा चमत्कारिक विकास भेट्टायो । त्यही मध्ये एउटा क्षेत्र अटोमोबाइल पनि हो ।

चीनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विकासमा ठूलो लगानी गर्यो । तर, सोचेजस्तो उपलब्धि पाउन सकेन । यद्यपि, अटो उद्योगमा अलग पहिचान बनाउने उसको लक्ष्य कतै कमजोर बनेन ।


चीनले सन् २००१ मा पन्चवर्षे योजना मार्फत विद्युतीय साधन विकासलाई जोड दियो । त्यसकै बलमा लगानी बढाउँदै लगेको उसले सन् २००९ देखि २०२३ सम्मको अवधिमा २३१ अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान दियो । सरकारले कर छुटदेखि चार्जिङ पूर्वाधार निर्माण र अनुसन्धानमा अन्धाधुन्ध लगानी गर्यो ।

चीनले गरेको उक्त लगानी अहिले अन्य देशको लागि टाउको दुखाइ भइरहेको छ । युरोपले चिनियाँ कारमा कर बढायो । अमेरिकाले चिनियाँ कारलाई प्रवेशमा रोक्ने काम गरिरहेको छ । चिनियाँ उत्पादनको कारण अहिले मध्यम आय भएका र न्यून मध्यम आय भएका देशमा ईभीतर्फ बजार मोडिएको छ ।

विद्युतीय सवारी साधन उत्पादनलाई मात्रै चीनले लक्ष्य बनाएन । उसको लक्ष्य ईभी लागि आवश्यक ईको सिस्टम निर्माण गर्नु थियो । त्यसको लागि ब्याट्री उत्पादन मुख्य अंश थियो । हाइ भोल्टेज ब्याट्रीको विकास बिना ईभीको सपना पूरा हुनै सक्दैन थियो । अहिले चीनसँग हाइ भोल्टेज ब्याट्रीको लागि चाहिने लिथियम, कोबाल्ट, निकल जस्ता कच्चा पदार्थमा विश्वको ७० प्रतिशत नियन्त्रण र उत्पादन छ ।

इलेक्ट्रीक भेहिकलको लागि आवश्यक ब्याट्रीपछि मोटर र अन्य इलेक्ट्रोनिक्स डिभाइसहरूको विकासमा पनि चीनले ठूलो लगानी गर्यो । त्यसले गाडी निर्मातालाई आफैं ९० प्रतिशतसम्म पाटर््स उत्पादन गर्न सक्षम बनायो ।

चीनले करिब २५ वर्ष ईभी विकासमा आफूलाई केन्द्रित गर्यो । त्यसको प्रतिफल आज कुल उत्पादन हुने ईभीको ७० प्रतिशत चीनमै बन्छ । चाहे ब्याट्री, ब्याट्री मेनेजमेन्ट सिस्टम होस् वा मोटर एउटा ईभीको लागि महत्वपूर्ण मानिने सबै क्षेत्रमा चीन बलियो बन्यो । अहिले जापान, युरोप र अमेरिका जस्ता अटो उत्पादनको हब मानिने देशहरू पनि चीनको आश्चर्यजनक दबदबाको प्रशंसक भएका छन् ।

नेपालले फाइदा उठायो

आजको दिनमा आइपुग्दा चीनको आश्चर्यजनक उपलब्धिको फाइदा नेपालले पनि पायो भन्न सकिन्छ । चीनमा बनेका ईभी चिनियाँ उपभोक्ताले पनि राम्रोसँग विश्व नगर्ने समयमा नै नेपालमा बिक्री सुरू भएको थियो ।


चाहे कार होस् या लाइट कमर्सियल सवारी साधन, नेपालमा अहिले चिनियाँ कम्पनीहरूकै दबदबा छ । अझ, भूकम्पपछि भारतले लगाएको नाकाबन्दीका कारण पैसा खर्च गर्न सक्ने नेपालीले ईभीको बारेमा सोच्न थालिसकेका थिए । त्यसमाथि नेपाल सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा ईभीमा निकै कम कर निर्धारण गरेपछि उपभोक्ता ईभीमा आकर्षित भए ।

अहिले इलेक्ट्रीक कारमा कर पनि कम छ । नेपालले विद्युत् आपूर्तिमा पनि एकरूपता ल्याउन थालेको छ । चार्जिङ पूर्वाधारहरू निर्माण भएका छन् । हाइवेमा लाइट प्यासेन्जर भेहिकलको लागि हरेक ५/१० किलोमिटरमा चार्जिङ स्टेशन बनेका छन् । नेपालको पेट्रोलियम पदार्थको कारण चलिरहेको ऊर्जा सुरक्षामा देखिएको जोखिम कम भएको छ ।

अहिले पेट्रोलियम पदार्थको मूल्य उच्च बन्दा पनि सडकमा बाक्लो संख्यामा ईभी गुड्न थालेका छन् । यसले समग्र देशको हितमा काम गरेको भान हुन थाल्यो ।


Back_to_top