ललितपुर महानगरले फोहोर संकलन गर्न किन्यो ११ फोटोन ईभी

काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर संकलन प्रयोजनका लागि ११ वटा विद्युतीय भ्यान किनेको छ ।

महानगरले ११ युनिट फोटोन टीएम वान विद्युतीय भ्यान खरिद गरेको हो । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ती महानगरलाई हस्तान्तरण गरेको छ ।

एमएडब्लूले नियमित फोटोन टीएम वानलाई कस्टमाइज गरी महानगरलाई हस्तान्तरण गरेको हो । यी प्रत्येक गाडी शहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन् । यसले नेपालभरी संस्थागत आवश्यकता अनुसार फोटोनका व्यावसायिक ईभी सोलुसन्स विकास गर्ने एमएडब्लू वृद्धिको बढ्दो दक्षतालाई पनि प्रतिबिम्बित गर्दछ।

नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो पटक हो । यसले व्यावसायिक ईभीहरूले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरले प्रदूषण नियन्त्रणका लागि विद्युतीय भ्इान प्रयोग गरेको बताए ।

‘हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदूषण एकदम निषेध छ। यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ। यस्तो ईभी पाउन सकिएला त हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय थियो। र, फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ। हामी अत्यन्तै खुसी छौँ,’ उनले भने ।

एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू रहेका छन् । कम्पनीले देशका १७१ भन्दा बढी स्थानमा सीसीएसटु डीसी फास्ट चार्जिङ स्टेसनहरू निर्माण गरिसकेको छ ।


Back_to_top