काठमाडौं । सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले जिम्नी एसयूभीको अटोमेटीक भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले यसअघि म्यानुअल गियरबक्समा मात्रै उपलब्ध गराएको जिम्नी अव भने अटोमेटीकमा पनि ल्याएको हो ।
सुरुमा कम्पनीले जेटा र अल्फा भेरियन्ट मात्रै नेपाल ल्याएको थियो । अब कम्पनीले यसको अटोमेटीक भेरियन्ट पनि ल्याएको हो । अटोमेटीक जिम्नीको मूल्य भने ६९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जिम्नीको म्यानुअल गियरबक्स भएको जेटा भेरियन्टको मूल्य ५९ लाख ९९ हजार र अल्फा भेरियन्टको ६४ लाख ४९ हजार तथा अल्फा ड्यूल टोनको ६४ लाख ७९ हजार रुपैयाँ कायम गरिएको छ ।
सुजुकीले भारतमा उत्पादन गरेको ५ ढोका भएको जिम्नी नेपालमा उपलब्ध गराएको छ । यसमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ ।
यसमा फोर स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिइएको छ । क्यानुअल भेरियन्टमा भने स्पीड गियरबक्स पाउन सकिन्छ । सुजुकीको अफरोड मेसिनमा हिल डिसेन्ट कन्ट्रोल, रियर भ्यु क्यामेरा, एबीएस, इबीडी जस्ता सुरक्षाका फिचर्स छन् ।
निकै कम्प्याक्ट क्याविन रहेको जिम्नीको ड्यासबोर्डमा ९ इन्चको टच स्क्रृन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयरब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायतको सुविधा पाउन सकिन्छ ।
इलेक्ट्रीक कारको मात्रै चर्चा भइरहेको समयमा सिजीले नेपाल ल्याएको यो पेट्रोल कारले निकै राम्रो बिक्री पाउन सफल भएको छ ।


