एउटै इलेक्ट्रीक कारमा ३५ हजार डलर घाटा बेच्दै !

काठमाडौं । चिनियाँ लग्जरी ईभी निर्माता कम्पनी नियोले एउटै कारमा ३५ हजार डलर घाटा खाएर आफ्नो गाडी बिक्री गरिरहेको समाचार न्यूयोर्क टाइम्सले छापेको छ । तर, एउटै कारमा यति ठूलो रकम घाटा खाँदा पनि चीन सरकारको अनुदानको कारण कम्पनीलाई भने फरक नपरेको समाचारमा उल्लेख छ ।

न्यूयोर्क टाइम्सका अनुसार नियोलाई जतिसुकै घाटा भएपनि चीन सरकारले व्यापार बिस्तार गर्न सहयोग गरिरहेको छ । मिडिया रिपोर्टमा सन् २०२० मा नियो टाट पल्टीन लाग्दा स्थानीय सरकारले २४ प्रतिशत शेयर किनेर १ बिलियन डलर बराबरको सहयोग गरेको थियो । त्यसको लगत्तै सरकारी बैंकले कम्पनीलाई १.६ बिलियन डलर ऋण लगानी गरेको उल्ल्ेख छ ।

चीनमा संचालित प्रायः सबै इलेक्ट्रीक कार निर्माताहरु घाटामा छन् । तर, बीवाइडीले सन् २०२३ को पहिलो ६ महिनामा नै १.५ बिलियन डलर नाफा गरेर ईभीमा चिनियाँ लगानी सहि भएको प्रमाणित गरेको छ ।

चीनमा नियो जस्ता लग्जरी मोडल उत्पादन गर्ने विद्युतीय कार निर्माताले पश्चिमा देशको अटोमोवाइल ब्राण्डहरुको तुलनामा धेरै कम खर्चमा कारहरु बनाइरहेका छन् । अहिले चीनको कार फ्याक्ट्रीमा काम गर्ने कामदारले वार्षिक ३० हजार डलर कमाउछन् । जुन रकम अमेरिकी अटोमोवाइलका कामदारले पाउने ज्यालाको तुलनामा एक चौथाई मात्र हो ।

पछिल्लो समयमा गरिएको एक रिसर्चका अनुसार बीवाइडी सिल इलेक्ट्रीकको लागत हिसाव गर्दा युरोपमा बनेको फक्सवागेन आईडी ३ भन्दा ३५ प्रतिशत कम मूल्यमा बनेको हो । त्यसमाथि चिनियाँ अटोमोवाइल कम्पनीहरुले ईभीको ब्याट्री बनाउन अत्याधुनिक प्रविधिको विकास गरेका छन् ।

जापानले सन् १९६०–७० को दशकमा विश्वको सबै मोटरसाइकल तथा सन् १९८०–९० को दशकको सबै कार इन्डष्ट्री कब्जा गरेको थियो । उक्त समयमा पनि जापानी नीति एकदमै क्रुर लागेको थियो । अहिले चीन सरकार ईभी कम्पनीको पछाडि लगानी गरिरहेको छ । त्यसैले विश्व ईभी बजारमा पहिला जापानले जस्तै चीनको कब्जामा नआउला भन्न सकिन्न ।


Back_to_top