नक्साल शोरुममा आइपुग्यो बजाज चेतक स्कुटर, कहिले हुन्छ सार्वजनिक ?

काठमाडौं । बजाजको पहिलो इलेक्ट्रीक स्कुटर चेतक स्कुटर नेपाली बजारमा सार्वजनिक गर्ने अन्तिम तयारी गरिएको छ ।

बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले काठमाडौंको नक्सालमा तयार पारेको डेडिकेटेड शोरुममा चेतक स्कुटर राखेको हो ।

चेतक शोरुममा राखिएसँगै अबको केही दिनमै स्कुटर सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले लामो समयदेखि नेपालको विभिन्न भू-भागमा चेतकको परीक्षण गरिसकेको छ ।

बजाजले चेतक सार्वजनिक गर्ने आधिकारिक मिति घोषणा नगरे पनि आगामी हप्ता सार्वजनिक हुने आकलन छ ।

भारतीय बजारमा विभिन्न भेरियन्टमा उपलब्ध रहेको चेतकको नेपालमा कुन भेरियन्ट सार्वजनिक हुन्छ भन्ने जानकारी बाहिर आएको छैन । अहिले बजाजका सबै मोटरसाइल नेपालमै एसेम्बल हुँदै आएका छन् । यस्तोमा बजाजले चेतक नेपालमै एसेम्बल गर्छ कि तयारी लिएर आउँछ अहिल्यै एकिन भएको छैन ।

बजाजले पछिल्लो पटक सार्वजनिक गरेको चेतक स्कुटर ३५०१, ३५०२ र ३५०३ भेरियन्ट उपलब्ध छ ।

बजाजले चेतक स्कुटरको नयाँ मोडलमा नयाँ फ्रेमको प्रयोग गरेको छ । नयाँ चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ । कम्पनीले फ्लोरबोर्डमा ब्याट्री प्लेस गरेसँगै बुट स्पेसमा वृद्धि भएको छ । यसको रेन्ज १५३ किलोमिटर पुगेको कम्पनीको दाबी छ ।

यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ ।


Back_to_top