काठमाडौं । नेपाली युवाको रोजाईमा सबैभन्दा बढी पर्ने गरेको नेकेड मोटरसाइकलमा निकै ठूलो प्रतिस्पर्धा रहँदै आएको छ । बजाजले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको नेकेड रोडस्टार मोटरसाइकल पल्सर एनएस २०० निकै चर्चामा रहेको छ ।
गत भदौमा भएको नाडा अटो शो २०१९ बाट नेपाली बजारमा आएको सुजुकीको जिक्सर २५० नेकेड मोटरसाइकलले पनि युवालाई आकर्षित गरिरहेको छ ।
बजाजका मोटरसाइकल नेपाली बजारमा हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको छ भने सुजुकीका मोटरसाइकल विशाल ग्रुप अन्तर्गतको भिजी सुजुकीले बिक्री वितरण गर्दै आएको छ ।
इन्जिन क्षमताका आधारमा सुजुकीको मोटरसाइकल पावरफुल भएपनि यसमा दिइएको टेक्नोलोजि, डिजाइन र अन्य फिचरका आधारमा यसको सिधा प्रतिस्पर्धा पल्सर एनएस २०० सँग भइरहेको छ ।
बजाज पल्सर एनएस लामो समयदेखि नेपाली युवाको रोजाईमा पर्दै आएको छ भने सुजुकले यसअघि १५५ सीसीमा जिक्सर ल्याइरहेकोमा केही समयअघि मात्रै २५० सीसीमा समेत ल्याएको हो । यस्तोमा यी दुई मध्ये कुनै एक मोटरसाइकल किन्न चाहनेलाई हामीले यहाँ तुलनात्मक भिन्नता देखाउने प्रयास गरेका छौं ।

इन्जिन र पावर
सुजुकी २४९ सीसी, सिंगल सिलिण्डर, आयल कुल्ड, ४ भल्भ एफआई इन्जिनले ९००० आरपीएममा २६ बीएच पावर र ७५०० आरपीएममा २२.६ एनएम टर्क ।
पल्सर एनएस २०० मा १९९.५ सीसी सिंगल सिलिण्डर, ४ भल्भ लिक्विडकुल्ड, एफआई इन्जिनले ९५०० आरपीएममा २३.१७ बीएच पावर र १८.३ एनएम टर्क प्रदान गर्छ । दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
फियुल ट्याङ्क र माइलेज
दुबै मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ । बजाज पल्सर एनएस २०० ले प्रतिलिटर माइलेज ३५ किलोमिटर दिन्छ भने सुजुकी जिक्सर २५०ले प्रतितलिटर माइलेज ३० किलोमिटर दिन्छ ।
डायमेन्सन
जिक्सर २५० को लम्बाई २०१०, चौडाई ८०५ र उचाई १०३५ एमएम रहेको छ भने ह्वील वेस १३४० एमएम रहेको छ ।
पल्सर एनएस २०० को लम्बाई २०१७, चौडाई ८०४ एमएम उचाई १०७५ एमएम र ह्वीलवेस १३६३ एमएम रहेको छ ।
जिक्सरको ग्राउन्ड क्लियरेन्स १६५ एमएम र पल्सर एनएसको १६७ एमएम रहेको छ । जिक्सरको सिट हाइट ८०० एमएम रहेको छ भने एनएसको उचाई ८०५ एमएम रहेको छ ।
सस्पेन्सन
मोटरसाइकललाई आरमदायी बनाउन दुबै कम्पनीले कुनै कसर बाँकी राखेका छैनन् । बजाजले एनएस २०० मा अगाडि टेलिस्कोपिकको साथ एन्टी फिक्सन बुस र पछाडि निट्रोक्स मोनोसक एब्जर्वरको साथ क्यानिस्टर सस्पेन्सन दिएको छ ।
सुजुकीले जिक्सर २५० को अगाडि टेलिस्कोपिक क्यल स्प्रीङ र पछाडि स्वीङआर्म मोनोसक दिएको छ ।
ब्रेकिङ र सुरक्षा
दुबै मोटरसाइकलले सुरक्षीत राडिङलाई ध्यानमा राख्दै दुबै चक्कामा डिस्क ब्रेकको विशेषता दिएका छन् । दुबै मोटरसाइकलमा एबीएसको विशेषता दिइएको छ ।

अन्य फिचर
दुबै मोटरसाइकलमा एलइडी हेडल्याम्प र टेलल्याम्प दिइएको छ । डिजिटल स्पीडो मिटर, डिजिटल ट्रिप मिटर, फियुलगज, लो व्याट्री इन्डिकेटर, पिलियन ग्रभरेल, इन्जिन किल स्वीच जस्ता समान फिचर उपलब्ध रहेको छ ।
मूल्य
बजाजले आफ्नो नयाँ एनएस २०० का मूल्य ३ लाख ५४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री वितरण गर्दै आएको छ । सुजुकीले केही महिना अघि नेपाली बजारमा ल्याएको जिक्सर २५० को मूल्य ४ लाख ६१ हजार ९०० रुपैयाँ तोकेको छ ।


