काठमाडौं । मोटरसाइकलको बढ्दो मूल्य र आर्थिक मन्दीका बीच बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर सिरिजमा नयाँ मोटरसाइकल नेपाल ल्याउन लागेको छ । कम्पनीले आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा पल्सर ‘पी-१५०’ नयाँ मोडल ल्याउने तयारी गरेको हो ।
पल्सर पी-१५० उच्च माइलेज, लाइटवेट र आकर्षक डिजाइनको कारण चर्चामा रहेको मोडल हो । यसअघि नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गरेर कम्पनीले पी-१५० नेपाल ल्याउने तयारी गरेपनि मन्दीको कारण ल्याएको थिएन ।
बजाज पल्सर एन सिरिजको ‘एन १६०’मा आधारित नयाँ पी-१५०ले पल्सरको दुई दशक लामो लिगेसी बोकेको छ । पल्सर पी–१५० को नयाँ जेनेरेशन मोडलमा कम्पनी ब्यापक परिर्वतन गरेको छ । पुरानो इन्जिनको तुलनामा पी-१५० को इन्जिनले पावर पनि बढी प्रदान गर्नेछ ।
त्यस्तै, बजाज पल्सर १५० को तुलनामा पी-१५० को तौल ८ केजीले कम रहेको छ । यसको कारण पी-१५० को माइलेजसमेत पल्सर १५० को तुलनामा धेरै हुने कम्पनीको दावी छ ।
यो मोटरसाइकल पल्सर १५० र एन १६० को बीचका ग्राहकलाई लक्षित गरेर ल्याउने अनुमान गर्न सकिन्छ ।
पल्सर पी-१५० मा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ भने यसले १४.५ पीएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसमा १४ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले पल्सर १५० मा रहेको डबल सस्पेन्सनलाई मोनोशक सस्पेन्सनले रिप्लेस गरेको छ । यसको फ्रन्टमा ३१ एमएम टेलिस्कोपिक सस्पेन्सन दिएको छ ।
कम्पनीले पी-१५० मा ड्रम तथा डबल डिस्क ब्रेक तथा सिंगल सिट तथा स्प्लीट सिट दुवै अप्सन दिएको छ । कुन कुन अप्सन नेपालमा उपलब्ध हुन्छ भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।
बजाज अटोले पल्सर पी-१५० मा धेरै जस्तो फिचर पल्सर एन-१६० बाट लिएको छ । यसमा एन-१६० कै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ । उक्त क्लष्टरमा गियर इन्डिेकटर, रेन्ज इन्डिकेटर पाउन सकिन्छ ।
त्यस्तै, यसमा फुल एलइडी प्रोजेक्टर हेडलाइट, एलइडी डीआरएल, एलइडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।

