काठमाडौं । विश्वकै ठूलो ईभी मार्केट चीनमा सयौं कम्पनीले ईभी उत्पादन गर्दै आएका छन् । तर, त्यहाँ रहेका १० ठूला कम्पनीले सबैभन्दा धेरै बजार ८० प्रतिशत बजार हिस्सा ओगटेको छ ।
सन् २०२३ को जनवरीदेखि जुलाईसम्मको ७ महिनामा बीवाइडीले १३ लाख ८५ हजार ४५५ यूनिट ईभी बिक्री गर्दै पहिलो स्थान कब्जा गरेको छ । कम्पनीले न्यू इनर्जी भेहिकलमा चीनमा ३७.२ प्रतिशत बजार हिस्सा एक्लै ओगटेको छ ।
अमेरिकी लग्जरी कार निर्माता टेस्लाले पनि चीनमा आफ्नो उत्पादन खुब बिक्री गरिरहेको छ । चीन प्रबेश गरेको एक वर्षमा नै टेस्लाले ८.७ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थान लिन सफल भएको छ ।
ग्वान्जाओ अटोमोवाइल कर्पोरेशन (जीएसी) को एओन ब्राण्डले ६.८ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा आफुलाई राख्दा जिलीले ६ प्रतिशत बजार हिस्सा सहित चौथो स्थान पाएको छ ।

एसएआईसी ग्रुपले ५.७ प्रतिशत बजार हिस्सा सहित पाँचौ स्थानमा रहन सफल भएको छ । छैठौं स्थानमा रहेको एलआई अटोको ४.७ प्रतिशत, सातौं स्थानमा रहेको चांगानको ४.६ प्रतिशत बजार लिन सफल भएको छ ।
आठौं स्थानमा रहेको ग्रेटवाल मोटर्सको २.९ प्रतिशत, नवौं स्थानमा रहेको एनआईओको २.० प्रतिशत र दशौं स्थानमा रहेको नेटाको १.८ प्रतिशत बजार हिस्सा रहेको छ ।
बीवाइडीको ५० लाख यूनिट पुरा
बीवाइडीले ५० लाख न्यू इनर्जी भेहिकल उत्पादन पुरा गरेको छ । ५० लाख यूनिटको बेन्चमार्क पुरा गर्ने बीवाइडी विश्वकै पहिलो कार निर्माता बनेको छ । कम्पनीले ५० लाखौं यूनिटको रुपमा डेन्जा ब्राण्डको ‘एन-७’ एसयूभी उत्पादन गरको हो ।
डेन्जा बीवाइडीको सव-ब्राण्डको रुपमा गत वर्षको अन्त्यमा लन्च भएको थियो । डेन्जा ब्राण्डमा सुरुका दिनमा मर्सिडिज बेन्ज र बीवाइडीको ५०/५० प्रतिशत लगानी रहेपनि अहिले बीवाइडीको हिस्सा ९० प्रतिशत पुगेको छ ।
बीवाइडीले सन् २००३ बाट गाडी उत्पादन थालेको हो । तर, कम्पनीले सन् २००८ बाट मात्र न्यू इनर्जी भेहिकल बनाउन थालेको थियो । कम्पनीले सन् २०२१ को मे १९ मा १० लाख गाडी उत्पादन पुरा गरेको थियो ।
सन् २०२२ मार्चदेखि आइसी इन्जिन मात्रै भएको गाडी उत्पादन गर्न बन्द गरेको कम्पनीले ब्याट्री इलेक्ट्रीक र प्लग इन हाइब्रिड कार मात्रै उत्पादन गर्दै आएको छ ।

