४०० सीसीका दुई नयाँ मोटरसाइकल बनाउँदै ट्रायम्फ, दुई मोडल नेपालमा सार्वजनिक हुने

reference pictures

काठमाडौं । बजाज अटोले ट्रायम्फसँग सहकार्य सुरू गरेसँगै आक्रामक रूपमा बजार विस्तार गर्दै आएको छ । कम्पनीले छोटो समयमा नै ५० हजार युनिट मोटरसाइकल बिक्री गरेको छ भने भारतमा १०० भन्दा धेरै शोरुम संचालनमा ल्याइसकेको छ ।

कम्पीले भारतमा उत्पादन भएको ट्रायम्फ ४०० सिरिज यूरोप तथा अमेरिकी बजारमा समेत बिक्री हुन थालेको छ । ट्रायम्फ र बजाजको सहकार्यमा अहिले भारतमा ४०० सीसी क्षमताका दुई मोटरसाइकल स्पीड ४०० र ४०० स्क्रयाम्बलर उत्पादन हुँदै आएको छ ।

कम्पनीले व्यवसाय विस्तारको क्रममा भारतमा थप दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले फेस्टिभ सिजनमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको हालै सार्वजनिक एक रिपोर्टमा बताइएको छ ।

बजाजले मासिक १० हजार युनिट ट्रायम्फ मोटरसाइकल बेच्ने योजना सहित ४०० सीसी एड्भेन्चर तथा क्याफे रेसर मोटरसाइकल ल्याउने बताइएको छ ।
ट्रायम्फले ४०० सीसी क्याफेरेसर भारतमा परीक्षण गरिरहेको यसअघि नै देखिएको थियो । परीक्षणको क्रममा देखिएको क्याफे रेसर थ्रक्सटन १२०० बाट प्रभावित डिजाइनमा रहेको छ ।

त्यस्तै, अर्को मोडल भने ट्रायम्फ टाइगरबाट प्रभावित डिजाइनमा हुने अनुमान गरिएको छ । ट्रायम्फ ४०० मा ३९९ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ३९.५ ब्रेक हर्ष पावरका साथै ६५०० आरपीएममा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, राइड वाइ वायर टेक्नोलोजी उपलब्ध छ ।

नेपाल भित्रिँदै ट्रायम्फ

बजाज अटो तथा ट्रायम्फले संयुक्त रूपमा भारतमा उत्पादन गरेको मोटरसाइकल ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स र स्पीड ४०० नेपाल आउने भएको छ । कम्पनीले नाडा अटो शोमा दुवै मोटरसाइकल प्रदर्शन गर्ने तयारी गरेको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नक्शालमा ट्रायम्फका लागि अत्याधुनिक शोरुम समेत निर्माण थालिसकेको छ ।


Back_to_top