काठमाडौं । भारतीय टु ह्वीलर उत्पादक बजाजले तीन नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ल्याउने तीन नयाँ मोडललाई नै चलाउन पेट्रोलको आवश्यकता पर्ने छैन ।
भारतकै ठूलो मध्येको एक मोटरसाइकल उत्पादक कम्पनी बजाज पछिल्ला दिनमा पेट्रोलको विकल्पमा नयाँ इनर्जीबाट चल्ने दुई पाङ्ग्रे सवारी साधन उत्पादनमा केन्द्रित छ ।
बजाजले यसअघि विश्वकै पहिलो सिएनजी इन्जिनमा आधारित मोटरसाइकल सार्वजनिक गरेको थियो । सँगै कम्पनीले चेक स्कुटर मार्फत विद्युतीय सेग्मेन्टमा पनि आफुलाई बलियो बनाइसकेको छ । अब कम्पनीले कम्प्रेस बायोग्यास (सीबीजी) बाट चल्ने मोटरसाइकल पनि ल्याउने भएको हो ।
नयाँ चेतक स्कुटर
बजाज अटोले विद्युतीय दुई पाङ्ग्रेको लागि पूर्णत न्यू प्लेटफर्म तयार पारेको छ । त्यही नयाँ प्लेटफर्ममा आफ्नो विद्युतीय साधन भोलिको दिनमा बजारमा ल्याउने जनाएको छ ।
बजाज चेतक अहिले पनि भारतमा राम्रो सफलता पाइरहेको मोडल हो । नयाँ ब्याट्री टेक्नोलोजीमा आधारित रहेर कम्पनीले अल न्यू चेतक स्कुटर ल्याउने तयारी थालेको छ ।

कम्पनीले नयाँ चेतक कस्तो हुन्छ भन्ने जानकारी बाहिर ल्याएको छैन । तर, अहिलेकै डिजाइनमा आधुनिक टेक्नोलोजी प्रयोग गरेर ल्याउने अनुमान गर्न सकिन्छ । बजाजले चेतकमा थुप्रै नयाँ भेरियन्ट दिएर बजारमा ल्याउने बताइएको छ । नयाँ चेतक आगामी डिसेम्बर २० तारिखमा बजारमा आउने अनुमान गरिएको छ ।
सिएनजीमा नयाँ मोडल
बजाजले फ्रिडम १२५ मार्फत विश्वकै पहिलो सिएनजी मोटरसाइकल ल्याएर आफ्नो नाम चम्काएको थियो । अब कम्पनी सिएनजी इन्जिनमै नयाँ मोडलको परीक्षण गरिरहेको छ ।
पूर्णरुपमा छोपेर परिक्षण भइरहेको नयाँ मोटरसाइकलमा एलइडी हेडल्याम्प, टेलिस्कोपीक फर्क रहने देखिन्छ । यसका अलावा नयाँ मोटरसाइकलको धेरै जानकारी बाहिर आएको छैन ।
सिबीजी बाइक
बजाजले सिएनजी बाइकको सफलतापछि कम्प्रेस्ड बायो ग्यासको प्रयोगबाट चल्ने मोटरसाइकल ल्याउने तयारी थालेको हो । कम्पनीका एमडी राजिब बजाजले आफ्नो सिएनजी इन्जिनमा नै कम्प्रेस्ड बायोग्यास प्रयोग गर्न सकिने बताएका थिए ।
अहिल्यै कम्प्रेस्ड बायोग्यासको उत्पादन धेरै नभएको कारण कम्पनीले नयाँ इन्जिनको विषयमा अध्ययन भइरहेको जनाएको छ । मारुती सुजुकीले भारतमा कम्प्रेस्ड बायोग्यास उत्पादन गर्न गुजरातमा रहेको एक डेरी कम्पनीसँग सहकार्य गर्दै आएको छ । ग्यास उत्पादनपछि नयाँ मोटरसाइकल आउने अनुमान गर्न सकिन्छ ।


