५० करोडमा खुलेको ब्याट्री उद्योगबाट निर्यात सुरू, नेपाली उद्योगले भने किन्दैनन्

हेटौंडा । हेटौंडाको औद्योगिक क्षेत्रमा एसटीसी ग्रुपले स्थापना गरेको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले सबै किसिमका सवारी साधन र इनभर्टरमा समेत प्रयोग गर्न सकिने ब्याट्री उत्पादन गर्दै आएको छ ।

२१ रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक टेक्नोलोजीमा आधारीत उक्त उद्योगमा हालसम्म ५० करोड सुन्दरैयाँभन्दा बढी लगानी भइसकेको छ । उद्योगले उत्पादन गरेको ब्याट्री विदेश समेत निर्यात सुरू भएको छ ।

भारत, चीन र जापानबाट मेसिन ल्याएको उद्योगले ब्याट्री प्याक गर्ने कन्टेनर पनि बाहिरबाटै ल्याइरहेको छ । नेपालमै उत्पादन गर्नुभन्दा बाहिरबाट ल्याउँदा बढी फाइदा हुने भएको कारण कन्टेनर नेपाल बाहिर किन्ने गरिएको कम्पनीको भनाइ छ ।

उद्योगमा जडान भएको ‘भीआरएलए टेक्नोलोजी’ चीनबाट ल्याइएको हो । नवीनतम टेक्नोलोजीमा पर्ने भीआरएलए टेक्नोलोजीको कारण यसले विश्वका कुनै पनि देशमा उत्पादन भएको लिड एसिड ब्याट्रीसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

बजारीकरणमा पनि एसटीसी ग्रुपले कुनै कसर बाँकी राखेको छैन । नेपालको सबै भेगमा एसटीसीका राइड र इनर्जी ब्राण्डका ब्याट्री पाउन सकिन्छ ।

सबै किसिमका ब्याट्री उत्पादन हुँदै

यस उद्योगमा मोटरसाइकल तथा स्कुटर, कार/जीप/भ्यानसँगै ठूला सवारीसाधन, रिक्सा, इनभर्टर लगायतका लागि आवश्यक पर्ने ब्याट्री बनिरहेको छ । सबै किसिमका ब्याट्री मिलाएर वार्षिक १८ लाख ब्याट्री उत्पादन गर्ने क्षमता उद्योगको छ । त्यसको मतलब मासिक उत्पादन क्षमता १ लाख ५० हजार युनिट ब्याट्री उत्पादन गर्न सक्नेछ ।

अहिले मासिक २५ हजार दुईपाङ्ग्रेको ब्याट्री उत्पादन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक सुरेशकुमार उप्रेतीले जानकारी दिए । साथै, अटोमोटिभ ब्याट्री मासिक २० हजार बनाउन थालेको बताउँदै उप्रेतीले भने, ‘यस वर्ष वार्षिक ४ लाखदेखि ५ लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं ।’

गुणस्तर र वारेन्टी

उद्योगमा बनेका ब्याट्रीको गुणस्तर कायम गर्न सबै किसिमका मापदण्ड पूरा गरेको कम्पनीका क्वालिटी कन्ट्रोल तथा उत्पादन हेड सुन्दर मूर्तीले बताए ।

विगतमा भारतमा रहेका ठूला ब्याट्री एक्साइड, एम्रोक लगायतका ब्राण्डमा काम गरिसकेका सुन्दर मूर्ती भन्छन्, ‘हामीले यसको गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं । अहिले बाहिरबाट आउने ब्याट्री सरहकै गुणस्तर, वारेन्टी लगायत प्रदान गरेर बजारमा पठाइरहेका छौं । बजारको प्रतिक्रिया पनि निकै राम्रो छ ।’

उनका अनुसार यस उद्योगमा उत्पादन भएका ब्याट्रीले माइन १८ डिग्रीदेखि ६५ डिग्री तातो स्थानमा समेत उत्कृष्ट पर्फमेन्स गर्नेछ । गुणस्तर परीक्षण अटोनोमस प्रविधिबाट हुने भएको कारण डिफेक्ट उत्पादन बजारमा जाने सम्भावना अत्यन्त न्यून रहेको छ ।

कम्पनीले उपभोक्तालाई सही गुणस्तर र मापदण्ड अनुसार उत्पादन भएको ब्याट्री उपलब्ध गराउँदै आएको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए ।

‘उपभोक्तालाई राम्रो मूल्यमा उत्कृष्ट उत्पादन दिन एसटीसी ग्रुप सदैव प्रतिबद्ध छ । हामी विगतदेखि नै पार्ट्स लगायतका वस्तुको व्यापारमा रहेको कारण सहजै बजारमा सप्लाई चेन निर्माण गर्न सफल भयौं,’ प्रबन्ध निर्देशक उप्रेतीले भने ।

दुईपाङ्ग्रे साधनको ब्याट्रीमा ३६ महिना कारमा ३६ महिना, इनभर्टरमा ६० महिना र ईरिक्साको ब्याट्रीमा भने १२ महिनाको वारेन्टी दिएको छ । यस अवधिमा ब्याट्रीमा कुनै समस्या आएका १०० प्रतिशत रिप्लेसमेन्ट गरिदिने उनले बताए ।

उद्योगमा समस्या के छ ?

सुरूवात गर्दा निकै समस्या भोगेको सम्झँदै प्रबन्ध निर्देशक उप्रेती भन्छन्, ‘दक्ष जनशक्तिको अभाव र टेक्नोलोजीको प्रयोग कम हुँदा सुरूमा बनेका ब्याट्रीमा समस्या धेरै आयो । उपभोक्ताले गुनासो गर्नुभयो । हामीले घाटा नै खाएर भए पनि रिप्लेस गरेका थियौं । अब नयाँ टेक्नोलोजीसँग दक्ष कामदारको टीम आएपछि ब्याट्रीको पर्फमेन्स राम्रो भएको छ । अहिले बजारमा प्रयोग भएका ब्याट्रीमा औसत २.५ प्रतिशतमा मात्रै टेक्निकल समस्या देखिन्छ । जुन औसत इन्डष्ट्रीको भन्दा कम हो ।’

दक्ष जनशक्ति भारतबाट ल्याएर काम गरिरहेको उद्योगले चाँडै नेपालमै जनशक्ति उत्पादन गर्ने लक्ष्यको साथ काम गरिरहेको छ । भारतबाट आएका जनशक्तिले नेपाली जनशक्तिलाई ट्रेनिङ दिँदै आएको छ । १ वर्षभित्र नेपाली इन्जिनीयरहरूले फ्याक्ट्री राम्रोसँग संचालन गर्न सक्ने अवस्था आउने प्रोडक्सन हेड सुन्दर मूर्तीले बताए ।

ब्याट्री उद्योगले राम्रो मात्रै त देखेको छैन होला । यहाँ भित्र देखिएका मुख्य समस्या के–के हुन् भन्ने प्रश्नमा प्रबन्ध निर्देशक उप्रेती भन्छन्, ‘एसीडको आयात निकै कठिन छ । एसिड जहाँ त्यहीँबाट आयात गर्न सकिँदैन । गृह मन्त्रालयको अनुमति बेगर एसिड ल्याउन पाइँदैन । गृहले ल्याउने अनुमति दिन पनि उद्योग विभाग लगायतका निकायको स्वीकृति चाहिन्छ । अन्तर सरकारी निकायमा समन्वय कमजोर हुँदा एसिड आयात प्रक्रिया झन्झटिलो छ ।’

निर्यात सुरू, नेपालकै एसेम्बल उद्योगले लिँदैनन्

निर्यात गर्ने विषयमा कम्पनी प्रष्ट छ । उद्योगले भारतका विभिन्न कम्पनीमा नमूना प्रोडक्ट पठाएको छ । ब्याट्री भारतमा पठाउन त्यहाँको नियम अनुसार प्रदूषण डिपार्टमा रकम जम्मा गर्नुपर्छ । त्यसको लागि एजेन्टहरूसँग मिलेर काम गर्नुपर्छ । त्यो काम उद्योगले गरिरहेको छ ।

सबै प्रक्रिया पूरा गर्दै एसटीसीका उत्पादन भारतमा पनि बिक्री सुरू भइसकेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए । उनका अनुसार एसटीका ब्याट्रीले एआएआई सर्टिफिकेट पनि प्राप्त गरिसकेको छ ।

नेपालमा खुलेका एसेम्बल उद्योगहरूले अहिलेसम्म पनि भ्यालु एड गर्न सकिरहेका छैनन् । उनीहरू सरकारबाट पाउने सुविधा उपभोग गर्छन् । तर, भ्यालु एडमा मौन छन् । नेपालमै ब्याट्री उत्पादन भएर भारत निर्यात सुरू भइसक्दा पनि यही उत्पादन भएको ब्याट्री प्रयोग गर्न कसैले चासो देखाएका छैनन् । यो एउटा उद्योगका लागि निकै पीडादायी विषय हो ।

 


Back_to_top