काठमाडौं । नेपालबाट भारतका थप ८ सहरमा सीधा बस सेवा संचालनका लागि व्यवसायीहरूले रुट अनुमति माग गरेका छन् ।
हाल नेपालबाट भारतका विभिन्न १३ सहरमा सीधा बस सेवा संचालन हुँदै आएकोमा व्यवसायीहरूले थप ८ सहरका लागि रुट अनुमति माग गरेका हुन् ।
यातायात व्यवस्था विभाग, सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक श्रीकान्त यादवले दुवै देशका व्यवसायीले थप ८ रुटमा बस संचालनका लागि अनुमति मागेको बताए । उनका अनुसार भारतीय र नेपाली व्यवसायीले ४/४ रुटमा बस संचालनका लागि अनुमति मागेका हुन् ।
‘हाल नेपाल-भारत मैत्री बस सेवा अन्तगर्त नेपालबाट भारतका विभिन्न १३ सहरमा सीधा बस सेवा संचालन भइरहेको छ । यसबाट दुवै देशका यात्रुले सुविधा पाइरहेका छन्,’ उनले मेरोअटोसँग भने, ‘व्यवसायीहरू थप सहरमा पनि सेवा विस्तार गर्न उत्साहित छन् । दुवै देशका व्यवसायीले थप ८ रुटमा बस चलाउन अनुमति मागेका छन् ।’ माग भएका रुट बारे अध्ययन गरेर अनुमति दिइने उनको भनाइ छ ।
निर्देशक यादवका अनुसार नेपाली व्यवसायीले नेपालगञ्ज-जयपुर, नेपालगञ्ज-वैभिताल, काठमाडौं-जयपुर र काठमाडौं-चण्ढीगढ बस संचालनका लागि रुट अनुमति मागेका छन् । त्यस्तै, भारतीय व्यवसायीले जयपुरबाट नेपालको काठमाडौं, पोखरा, जनकपुरका लागि अनुमति मागेका हुन् ।
सन् २०१४ देखि नेपाल भारत मैत्री बस सेवा संचालन हुँदै आएको छ। कोभिडका कारण बीचमा केही समय रोकिए पनि हाल १३ रुटमा संचालनमा छन् ।
हाल काठमाडौं-पटना-बोधगया, महेन्द्रनगर-दिल्ली, सिलगुडी-काकडभिट्टा-काठमाडौं, जनकपुर-पटना, महेन्द्रनगर-देहरादून, नेपालगञ्ज-रुपैडिया-बरेली-मोरादावाद-हरिद्धार, नेपालगञ्ज-रुपैडिया-लखनउ, नेपालगञ्ज-रुपैडिया-दिल्ली, काठमाडौं-सुनौली-गोरखपुर, काठमाडौं-भैरहवा-सुनौली-गोरखपुर-लखनउ-दिल्ली, जनकपुर-जलेश्वर-भिट्टामोड-सुरसण्ड-सीतामढी-मुझफरपुर र पिराकोठी-गोपालगञ्ज-सलेमगढ-गोरखपुर-अयोध्या रूपमा सीधा बस सेवा संचालनमा छन् ।