क्लच थिच्नु नपर्ने हाेन्डा माेटरसाइकल सार्वजनिक, के हो इ-क्लच टेक्नोलोजी ?

काठमाडौं । होन्डा इन्डियाले ‘ई क्लच’ नामक नयाँ टेक्नोलोजी प्रयोग गरेर सीबी र सीबीआर सेग्मेन्ट अन्तर्गत दुई नयाँ मोटरसाइकल भारतीय बजारमा सार्बजनिक गरेकाे छ ।

कम्पनीले नयाँ टेक्नोलोजी प्रयोग गरेर सीबी ६५० आर र सीबीआर ६५० आर मोटरसाइकलको सार्वजनिक गरेकाे हाे ।

कम्पनीले रेगुलर माेडलकाे तुलनामा ४० हजार रुपैयाँ मूल्य बढाएर सार्वजनिक गरेकाे हाे ।

कम्पनीले ‘ई क्लच’ सीबी ६५० आरकाे मूल्य ९ लाख ६० हजार र सीबीआर ६५० आरकाे मूल्य १० लाख ४० हजार (एक्स साेरुम) भारतीय रुपैयाँ ताेकेर सार्वजनिक गरेकाे छ ।

यी दुइ माेटरसाइकल भारतीय बजारमा दुई पाङग्रे साधनमा ‘ई क्लच’ टेक्नोलोजीको प्रयोग भएको पहिलो मोटरसाइकल भएको छ ।

अन्य धेरै विश्वव्यापी बजारहरूमा ‘ई क्लच’ टेक्नोलोजी प्रयोग भएको होन्डा सीबी ६५० आर र सीबीआर ६५० आर पहिलैदेखि उपलब्ध छ ।

दुबै मोटरसाइकलमा समान ६४९ सीसी, इनलाइन ४, लिक्विड कूल्ड, डीओएचसी इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम ९४ हर्स पावर र ६३ एनएम टर्क जेनेरेट गर्छ । दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स र क्वीक सिफ्टर छ।

सस्पेन्सन सेटअपमा अगाडि शोवा एसएफएफ युएसडी फोर्क र पछाडि १० स्टेपको एड्जस्टेवल प्रिलोड मोनोशक ड्याम्पर समावेश छ । मोटरसाइकलमा फुल एलइडी लाइट, डिआरएल, अगाडि पछाडि दुबै टायरमा १७ इन्चको अलोय ह्वील, ट्युबलेस टायर, पिस्टन क्यालिपर ब्रेकिङ सिस्टम र एबीएस छ ।

यी दुबै मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी सहितको ५ इन्चको डीजीटल टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

के हो ‘ई क्लच’ टेक्नोलोजी ?

होन्डाले ई-क्लच टेक्नोलोजी पहिलो पटक २०२३ इक्मा अटो शोमा सार्वजनिक गरेको थियो । यो टेक्नोलोजीमा अटोमेटिक र मेनुअल दुबै सिस्टममा मोटरसाइकल चलाउन सकिन्छ ।

मोटरसाइकलमा ‘ई क्लच’ आएपछि चालकले मोटरसाइकल स्टार्ट गर्दा रोक्दा वा गियरहरू परिवर्तन गर्दा क्लच प्रयोग गरिरहनु आवस्यक पर्दैन।

ई क्लच होन्डाको क्वीक सिफ्टर र डबल क्लच ट्रान्समिसन टेक्निकबाट प्रेरित छ । यसलाई नियमित गियरबक्स सेटअपसँग काम गर्नका लागि तयार गरिएको हो । यसमा ई क्लच इलेक्ट्रोनिक रुपमा जोडिएको हुनेछ । जसले गर्दा क्लच लेस गियर सिफ्ट प्रयोग एकदमै सहज हुनेछ ।

चालकले मोटरसाइकल रोक्दा ई क्लच सिस्टमले क्लच अपरेसनलाई पनि कन्ट्रोल गर्छ । मोटरसाइकलमा गियर सिफ्ट कस्टमाइज गर्न सकिने स्वीच पनि हुनेछ । चालकले सफ्ट, मिडियम र हार्ड रेजिस्टेन्स लेबल छानेर मोटरसाइकल चलाउन सक्छन् ।

इलेक्ट्रोनिक कन्ट्रोल युनिट, एक्चुएटर र सेन्सर जस्ता कम्पोनेन्टहरुले ई क्लचसंग मिलेर अपरेट गर्ने छन् । ई क्लच सिस्टममा क्लच लिभरसँग इलेक्ट्रीक सिस्टम जडान गरिएको हुन्छ । यसलाई चलाउदा पनि चालकले क्लच लिभर थिच्दा पनि इलेक्ट्रीक स्वीचमा दवाव पर्छ र क्लचले काम गर्छ । यो प्रक्रियामा क्लच निकै सफ्ट हुने गर्छ ।

यो टेक्नोलोजीको प्रयोगपछि क्लचको तार छिन्ने र अन्य क्लच सम्बन्धि समस्याबाट पनि मोटरसाइकल चालकले मुक्ति पाउने छन् ।


Back_to_top