त्रिशूली नदीले बेत्रावतीमा करिब १०० मिटर सडक कटान, आवतजावत ठप्प

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले झण्डै १०० मिटर सडक कटान गरेपछि त्रिदेशीय सडक मार्ग गल्छी-त्रिशूली-स्याफ्रुबेँसी-रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ ।

यस सडकमार्ग अन्तर्गत विदुर-वेत्रावती-किस्पाङ-मैलुङ-रसुवागढी सडकको बीचमा त्रिशूली नदीले कटान गरेपछि आवतजावत ठप्प भएको हो ।

त्रिशूली नदीले वेत्रावती पेट्रोल पम्प लगायत ठाउँमा १०० मिटर सडक बगाएको हो ।

बाढीका कारण रसुवा तथा नुवाकोटको किस्पाङ, शान्तिबजार जाने बाटो ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। त्रिशूली नदीले कटान गर्दा उक्त स्थान आसपासका बस्ती तथा उत्तरगया गाउँपालिका कार्यालय समेत प्रभावित हुन पुगेको छ।

यसैबीच, नुवाकोट र रसुवाका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसहितको बैठकले तत्काल सडकको मर्मत तथा पुनर्निर्माण गरी यातायात सुचारु गर्नुपर्ने र थप कटान हुन नदिने गरी काम गर्ने निर्णय गरेकाे छ।

गल्छी-त्रिशूली-स्याफ्रुबेँसी-रसुवागढी सडकको स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक गत असार २४ गतेदेखि नै बन्द । साउन दोस्रो साता केही दिन खुलाइएको उक्त सडक बाढीले फेरि कटान गरेपछि अहिले पूर्ण रुपमा बन्द छ ।


Back_to_top