काठमाडौं । आगामी मंगलबारबाट सुरू हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ मा कम मूल्यमा फ्यामली ह्याचव्याक कार खोज्नेलाई उपयुक्त मोडल लन्च हुने भएको छ । सिजी मोटर्सले ‘आयोन यूटी’ ह्याचव्याक सार्वजनिक गर्ने भएको हो ।
सिजी मोटर्सले भदौ ३ गतेदेखि हुने नाडा अटो शो २०२५ मा ल्याउन लागेको नयाँ आयोन युटी ह्याचव्याक कार मूल्यका हिसावले उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ । कम्पनीले नयाँ ल्याउन लागेको ह्याचव्याक कारको मूल्य, ब्याट्री साइज र मोटर पावरको बिषयमा केही जानकारी दिएको छैन ।
नेपाली बजारमा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा बीवाइडी डल्फिन र डोङफेङ नामी–०१ जस्ता मोडल छन् । यी कारको मूल्य ३० लाखदेखि ४१ लाखसम्म रहेको छ । यही मूल्यको बीचमा रहने गरी आयोन युटीको बिक्री हुने अनुमान छ ।
चिनियाँ अटोमोबाइल ब्राण्ड जीएसीले युटी ह्याचव्याक कार चीनमा १२ हजार ३०० देखि १५ हजार अमेरिकी डलर कायम गरेर बिक्री गर्दै आएको छ । यसमा ४४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसको सीएलटीसी रेन्ज ४२० किलोमिटर भनिएको छ । तर, यसले वास्तविक सडकमा ३४० किलोमिटर हाराहारी रेन्ज दिने अनुमान गर्न सकिन्छ । मोटर भने १०० किलोवाटको छ ।

आयोन युटीको लम्बाइ ४२७० एमएम, चौडाइ १८५० एमएम र उचाइ १५७५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस रहने छ । १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
युटी ह्याचव्याक कारमा लामो ह्वीलवेस, फ्लस ह्याण्डलबार, स्मुद आउटलाइन र ओभल सेप दिएको छ । निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको आयोन युटीमा अगाडिको दायाँ फेन्डरमा चार्जिङ पोर्ट छ । हेडलाइट र फगलाइट पनि पृथक डिजाइनमा छ ।
फरक डिजाइनको ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचव्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ । यसको इन्टेरियरमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।

