१२ सय किलोमिटर रेन्ज दिने नयाँ ईभीमा कत्रो छ ब्याट्री ?

काठमाडौं । जर्मन प्रिमियम कार निर्माता बीएमडब्लूले एकपटकको फुल चार्जमा १ हजार २१३ किलोमिटर दूरी पार गर्ने नयाँ विद्युतीय कार परीक्षण गरेको छ । चीनमा परीक्षण भइरहेको बीएमडब्लू आई३ ५०-एलले सिंगल चार्जमा १२०० किलोमिटर माथि रेन्ज दिने बताइएको हो ।

बीएमडब्लूको सबैभन्दा धेरै रेन्ज दिने नयाँ ईभीले परीक्षणका क्रममा आफुलाई खरो उतारेको हो । यसले पाएको रेन्ज आधिकारिक दावीको तुलनामा १८ प्रतिशत बढी हो ।

राजमार्ग, राष्ट्रिय सडक र सहरी सडकमा गरिएको उक्त परीक्षणमा कारको ऊर्जा खपत प्रति १०० किलोमिटरमा ८.८ किलोवाट आवर मात्रै रहेको थियो ।

यो कार बीएमडब्ल्यूको नयाँ ‘न्यु क्लास’ विद्युतीय प्लेटफर्ममा आधारित छ । यसमा ११३.४ किलोवाट आवर क्षमताको ठूलो सिलिन्ड्रिकल ब्याट्री प्याक र ८०० भोल्टको हाई भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ ।

यसको फास्ट चार्जिङ क्षमता अधिकतम ४०० किलोवाट छ । कम्पनीका अनुसार १० मिनेट चार्ज गर्दा ४०० किलोमिटरसम्मको रेन्ज थप्न सकिन्छ ।

बीएमडब्ल्यू आई३ सिरिजमा रियर ह्विल ड्राइभका साथै डुअल मोटर अल ह्विल ड्राइभ संस्करण पनि उपलब्ध हुनेछ । अल ह्विल ड्राइभ संस्करणले अधिकतम ३४५ किलोवाट अर्थात् ४६३ हर्सपावर शक्ति र ६४५ एनएम टर्क उत्पादन गर्नेछ ।

बीएमडब्लूले अक्टोबर १५, २०२६ मा चीनको शेनयाङ उत्पादन केन्द्रमा छैटौँ पुस्ताको ब्याट्री प्रविधिको ठूलो परिमाणमा उत्पादन सुरु गरेको छ । यसका लागि कम्पनीले १० अर्ब युआन अर्थात् करिब १.५ अर्ब अमेरिकी डलर लगानी गरेको हो ।

२ लाख ४० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो उत्पादन केन्द्रबाट न्यु क्लासका आगामी विद्युतीय मोडलका लागि ब्याट्री उत्पादन हुनेछन् । नयाँ आईएक्स३ को डेलिभरी आगामी नोभेम्बर महिनादेखि सुरु हुने र आई३ को उत्पादन तथा बजार प्रवेश सन् २०२६ मै हुने अनुमान गरिएको छ ।


Back_to_top