बजाजको नयाँ मोटरसाइकलको बुकिङ खुल्यो

काठमाडौं । नेपाली बजारमा बजाज पल्सर २२० एफ मोटरसाइकलको २०२५ नयाँ भेरियन्टको बुकिङ खुला भएको छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर २२० नयाँ भेरियन्टको आजदेखि बुकिङ खुलाएको हो ।

उक्त मोटरसाइकल दुई साता अघि मात्रै भारतीय बजारमा सार्वजनिक भएको थियो ।कम्पनीले भारतमा लन्च भएको दुई साताको अन्तरालमै नेपालमा बुकिङ लिन थालेको हो ।

कम्पनीले नयाँ भेरियन्टको बुकिङ खुलाए पनि मूल्य र डेलिभरी गर्ने मिति भने तोकेको छैन । भारतमा नयाँ भेरियन्ट पल्सर २२० एफको मूल्य १ लाख २८ हजार भारु (एक्स शोरुम) छ । नेपाली बजारमा आउँदा यो मोटरसाइकलको मूल्य ४ लाख ४० हजार रुपैयाँ हाराहारी हुने अनुमान गरिएको छ ।

ग्राहकले न्यूनतम १ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

बजाज पल्सर २२० सन् २००७ देखि बजारमा उपलब्ध छ । नयाँ पल्सर २२० एफमा कम्पनीले पहिलो पटक डबल च्यानल एबीएस दिएको छ । साथै, यसमा केही कस्मेटिक परिवर्तनहरूसहित अन्य धेरै नयाँ सुविधाहरू थपिएका छन्।

अपडेट गरिएको पल्सर २२० एफमा नयाँ ग्राफिक्स डिजाइन र दुई नयाँ कलर अप्सन पाइन्छ । यसले २२० एफलाई रिफ्रेस लुक्स देखाएको छ ।

पल्सर २२० एफमा ब्लूटुथ इनेबल्ड पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट जस्ता सुविध थपेको छ ।

यसको अगाडि टेलिस्कोपिक एन्टी फ्रिक्शन बुश सस्पेन्सन र पछाडि ५ स्टेप नाइट्रोक्स शक अब्जर्बार, एलईडी लाइट, स्ट्यान्डर्ड एलईडी इन्डिकेटर्स, अलोय ह्वील, ट्युबलेस टायर र डबल डिस्कब्रेक पाउन सकिन्छ ।

बजाज पल्सर २२० एफमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन। यसमा पुरानै २२० सीसीको एयर र आयल कुल्ड, ट्विन स्पार्क, एफआई डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १८.५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ५ स्टेपको गियरबक्स छ ।


Back_to_top