काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ३ सय ७ बुलेट बाइकहरू कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोडिफाई बुलेट बाइकहरूलाई कारबाही गर्ने क्रममा ९ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
महाशाखाले बुलेट बाइकहरू मोडिफाई गरी ठूलो ध्वनीमा गुडाउने गरेकालाई ३ हजार रुपैयाँ जरिवानासहित लाइसेन्ससमेत जफत गर्ने गरेको छ ।
आधिकारिक व्यक्तिले मोडिफाई बाइकको सर्भिस नगराएसम्म र उक्त बाइकमा भएको उच्च ध्वनी उत्पन्न गर्ने पार्टपूर्जा ननिकालेसम्म लाइसेन्स नदिने गरेको ट्राफिक महाशाका एसएसपी वसन्त पन्तले बताए ।
गत आर्थिक वर्षमा ७ हजार ५ सय ४४ बुलेट मोटरसाइकलहरू यस कारबाहीमा परेको महाशाको तथ्याङ्कले देखाएको छ । गतवर्ष मोडिफाई बुलेट मोटरसाइकलबाट २ करोड २६ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यस्तै, २०७३–०७४ सालमा १८ हजार ३ सय ८६ मोडिफाई बुलेट बाइकहरू कारबाहीमा परेका थिए । उक्त बाइक कारबाहीबाट महाशाखाले ५ करोड ५१ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
पन्तले पछिल्लो समय बुलेट बाइक मोडिफाई गरेर गुडाउनेको सङ्ख्या कम हुँदै गएको बताएका छन् ।
‘हामीले कडाइ पूर्णक ट्राफिक परिचालनसहित यस्ता उच्च ध्वनी निकालेर गुडाइने मोडिफाई बाइकलाई कारबाही गरिरहेका छाैँ,’ पन्तले भने ।
यातायात ऐनअनुसार कुनै पनि सवारीसाधन मोडिफाई गरेर सञ्चालन गर्न पाइने छैन । उक्त ऐनअनुसार बुलेट बाइक मोडिफाई कारबाही २०७२ साल चैत २८ गतेदेखि परिचान भएको हो ।


