चीनले दिएको दुई ब्रुमर हस्तान्तरण, मेयर शाक्यले गरे उद्घाटन

काठमाडौं । चीनको छेङ्दु नगरले काठमाडौं महानगरपालिकालाई दिएको दुई ब्रुमर आज हस्तान्तरण गरिएको छ । हस्तान्तरण भएलगत्तै काठमाडौंका मेयर विद्यसुन्दर शाक्यले ब्रुमर चलाएर उद्घाटन गरेका हुन् । 

चीनले दिएको ब्रुमर युरो ५ मापदण्डका भएको हो । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इन्जिन क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इन्जिनको क्षमता ११८ किलोवाट छ । 

यो  ब्रुमरले १५.८ मेट्रिक टन तौल भएका डिजेलबाट चल्छन् । धुलो र पात पतिंगर संकलनमा प्रयोग गर्न सकिने बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । 

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिंगर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मूल्य २ करोड २७ लाख ३७२ रुपैयाँ हो ।

यसअघि काठमाडौं महानगरपालिकाले ५ वटा ब्रुमर खरिद गरेर काठमाडौंका सडक सफा गर्दै आएको छ । अनुदानमा आएको नयाँ दुई ब्रुमर थपिएपछि सडकका सफाई तिब्र हुने महानगरको भनाई छ । 


Back_to_top