काठमाडौंको चक्रपथमा बस र्‍यापिड ट्रान्जिट बन्ने

काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यस्थित गर्न सरकारले बस  र्‍यापिड ट्रान्जिट (बीआरटी) बनाउने भएको छ । यही साता काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनमा सरकारले चक्रपथमा बीआरटी संचालन गर्ने परियोजना सोकेस गर्न लागेको हो । 

चक्रपथमा बीआरटी संचालनका लागि सरकारले १४ करोड ९५ लाख अमेरिकी डलर लगानी प्रस्ताव गर्ने भएको छ । काठमाडौंमा संचानमा रहेका सार्वजनिक यातायातलाई सहज र सरल बनाउन सरकारले विभिन्न योजनाहरु ल्याउँदै आएको छ । तर त्यस्ता योजना भने योजनामै सिमित रहेका छन् । 

यही साता हुन लागेको लगानी सम्मेलनमा दाताहरुले काठमाडौं चक्रपथमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) संचालनका लागि लगानी प्रतिवद्धता जनाए भने त्यो बन्ने सम्भावना रहन्छ । 

सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेटमा समेत उपत्यकामा र्यापिड मास ट्रान्सपोर्ट संचालन गर्ने उल्लेख गरेको थियो । उक्त बजेटमा ‘काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई सुरक्षित र गुणस्तरिय बनाउन विभिन्न स्तरमा ठूला र मझौला सडकहरुमा र्‍यापिड मास ट्रान्सपोर्ट अवधारण लागु गरिने छ । यसका लागि सरकारले ४० भन्दा बढी सिट क्षमताका बसको आयातमा लाग्ने भन्सार महसुलमा निश्चित प्रतिशत छुट दिने व्यवस्था गरिएको छ,’ भनिएको थियो । 

तर उपत्यकाको सार्वजनिक यातायातमा केही रुटमा ठूला बस थपिए पनि सरकारले भने जस्तो र्यापिड मास ट्रान्सपोर्ट भने संचालन हुन सकेको छैन । अब भने दाताले लगानी प्रतिवद्धता जनाएमा काठमाडौंको चक्रपथमा बस  र्‍यापिड ट्रान्जिट संचालनमा आउने छ । 


Back_to_top