काठमाडौं । कम्प्याक्ट एसयूभी खोज्दै हुनुहुन्छ र मूल्यको हिसाबले पनि ठिकठाकको एसयूभी तपाईंको बजेट भित्र पर्छ भने बजारमा थुप्रै छनोट उपलब्ध छन् ।
भर्खरै बजारमा आएर उपभोक्ताको बीचमा पुग्न थालेको मोडल किन्ने तपाईंको योजना छ भने बीवाइडी एटो वान र नामी भिगो हेर्न नछुटाउनु होला । यी दुवै गाडी चाडपर्वको मुखमै बिक्री सुरू भएका मोडल हुन् ।
खासगरी बीवाइडी र नामी दुवै ब्राण्डले बजारमा ल्याएका यसअघिका गाडी सफल भइसकेका छन् । यस्तोमा थपिएका दुवै मोडलमा ग्राहकको आकर्षण रहने कम्पनीहरूको दाबी छ ।
नामीका कार एमएडब्लू वृद्धि र बीवाइडीका उत्पादन साइमेक्स इंक प्रालिले बिक्री गर्दै आएका छन् । यी दुई गाडी मध्ये कुनै एक किन्ने योजनामा हुनुहुन्छ भने तपाईंको लागि यहाँ प्रस्तुत गर्न लागेको विषयले निर्णय लिन सजिलो हुनेछ ।
मूल्यमा फरक
नामी भिगो दुई भेरियन्टमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्टको मूल्य ३७ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । दुवै भेरियन्टमा ब्याट्री साइजको फरक पाउन सकिन्छ ।

बीवाइडीले एटो टु एउटा मात्रै भेरियन्टमा ल्याएको छ । साइमेक्स इंकले ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर यसको बिक्री थालेको हो । मूल्यका हिसाबले भिगोको टप भेरियन्टभन्दा एटो टु ३ लाख रुपैयाँले महँगो छ । अब मूल्यको कारण कुन एसयूभी ठिक भन्ने कुरा तपाईंको बजेटमा भर पर्छ ।
ब्याट्री साइज
बीवाइडीको चर्चा विश्वभर सबैभन्दा धेरै ब्लेड ब्याट्रीकै कारण हुने गरेको छ । एटो टुमा पनि ५१.१३ किलोवाट आवर क्षमताको एलफपी ब्लेड ब्याट्री प्रयोग भएको छ । जसले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीको परीक्षणले देखाएको छ ।

नामी भिगोमा ४४.९४ र ५१.८७ किलोवाट आवरको एलएफपीे ब्याट्री प्रयोग भएको छ । यसको पनि ठूलो ब्याट्रीले ३४५ किलोमिटर नै रेन्ज दिने कम्पनीको दाबी छ ।
ब्याट्री साइज र रेन्ज उस्तै भएको कारण कुन राम्रो भन्ने विषयमा धेरै बहस गरिराख्नु पर्दैन । तर, डीसी चार्जरको सपोर्ट भने नामी भिगोभन्दा एटो टुमा राम्रो छ । भिगोले ६० किलोवाट र एटो टुले ८२ किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ । एसी चार्जर भने दुवैले ७ किलोवाटसम्मको सपोर्ट गर्नेछ ।
साइजको आधारमा कुन छान्ने ?
गाडी किन्नेको लागि कुन ठिक भन्ने निर्णय लिन साइज निकै महत्वपूर्ण हुन्छ । यी दुई गाडीमा साइजबाट निर्णय लिन पनि कठिन नै छ ।

एटो टुको लम्बाइ ४३१० एमएम छ भने भिगो ४३०६ एमएम लामो छ । चौडाइ भिगोको १८६८ एमएम छ भने एटो टुको १८३० एमएम छ । उचाइमा एटो टुको १६७५ एमएम छ भने भिगो १६४५ एमएम अग्लो छ ।
ह्वीलबेसको आधारमा भने भिगो क्लियर अगाडि देखिन्छ । भिगोमा २७७५ एमएम लामो ह्वीलबेस छ भने एटो टुमा २६२० एमएम लामो छ ।

ग्राउण्ड क्लियरेन्सको प्रस्ट विजेता एटो टु हो । एटो टुमा २०० एमएम र भिगोमा १८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । बुट स्पेशमा भने भिगो अगाडि छ । भिगोमा ५०० लिटर र एटो टुमा ४०० लिटर क्षमताको बुट स्पेश पाउन सकिन्छ ।
मुख्य फिचरमा कुन अगाडि ?
गाडीमा उपलब्ध टेक फिचरमा पनि उस्तै प्रतिस्पर्धा देखिन्छ । दुवै एसयूभीमा समान साइजका स्क्रीन र इन्स्ट्रुमेन्ट क्लस्टर छ । इन्टरटेन्टमेन्ट सिस्टमको साइज १२.८ इन्च छ भने इन्स्ट्रुमेन्ट क्लस्टर ८.८ इन्चका छन् ।

नामी भिगोमा सनरुफ पाउन सकिन्छ । बीवाइडी एटो टुमा सनरुफ छैन । भेन्टिलेटेड सिट, वायरलेस चार्जर, लेभल टु एडास, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् । सुरक्षाको लागि आवश्यक मानिने एयरब्यागमा एटो टु अगाडि छ । यसमा ६ एयरब्याग आउँछ । जबकि नामी भिगोमा ४ एयरब्याग मात्रै छ ।
दुवै एसयूभीमा एलईडी लाइटहरूको प्रयोग भएको छ ।
पावरमा लगभग उस्तै
बीवाइडी एटो टु पावरको मामलामा थोरै अगाडि छ । यसमा १०० किलोवाटको मोटर उपलब्ध छ । नामी भिगोमा भने ९९ किलोवाटको मोटर दिइएको छ ।

अन्त्यमा, कुन राम्रो ?
यदि, तपाईंको रोजाइ कम मूल्यमा फ्यूचरिस्टिक डिजाइन भएको एसयूभी हो भने भिगोको छनोट सही हुनसक्छ । तर, ब्राण्ड प्रतिको विश्वास, छिटो चार्ज गर्न मिल्ने र विश्व चर्चित ब्याट्री भएको गाडी छनोटमा हो भने बीवाइडी एटो टु उत्तम विकल्प हुनसक्छ ।

