ठूलो साइज र रियर ह्वील ड्राइभमा आउँदै नयाँ एटो थ्री

काठमाडौं । बीवाइडीले आफ्नो लोकप्रिय एसयूभी एटो थ्री अझै ठूलो साइज र रियर ह्वील ड्राइभ अप्सनमा ल्याउने भएको छ ।

नयाँ अपडेटेड एटो थ्री चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको फाइलिङ गरिएको हो । चीनमा एटो थ्री युआन प्लस नाममा बिक्री भइरहेको छ ।

फाइलिङमा समावेश गरिएका कागजात अनुसार बीवाइडीले एटो थ्रीलाई डिजाइन परिवर्तन गरी ठूलो साइज र नयाँ रियर ह्वील ड्राइभ अप्सनमा ल्याउने हो ।

मन्त्रालयका कागजात अनुसार गाडीमा पछाडि राखिएको एक इलेक्ट्रीक मोटर हुनेछ। यो २०० किलोवाट र २४० किलोवाट क्षमताको हुनेछ । दुवै मोटर पर्मानेन्ट म्याग्नेट सिंक्रोनोअस डिजाइनमा आधारित छन् । यसको अधिकतम स्पीड प्रतिघण्टा १९० किमी हुनेछ ।

बीवाइडीले यो गाडीमा फिनड्रिमको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरेको छ । यद्यपि, ब्याट्रीको कुल क्षमता भने दस्तावेजमा खुलाइएको छैन ।

चिनियाँ संचारमाध्यम आइटीहोमका अनुसार यसमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग हुन सक्छ । जुन ५ मिनेटमै १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन्छ ।

यसमा एडासका लागि थप सेन्सरहरू पनि विकल्पका रूपमा राखिएको छ। छतमा लाइडार, अगाडि राडार र फेन्डरमा क्यामेरा राख्न सकिन्छ। तर यो प्रणाली चलाउने कम्प्युटिङ प्लेटफर्मबारे कागजातमा कुनै विवरण दिइएको छैन ।

नयाँ एटो थ्रीको साइज हालकोभन्दा ठूलो भएको छ। यसको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६६५ एमएम छ। यसको ह्वीलबेस २७७० एमएम छ। गाडीको कर्ब वजन १६९० किलोग्राम र कुल वजन २११५ किलोग्राम रहेको नियामक कागजातमा उल्लेख छ।

नयाँ एटो थ्रीको बाहिरी डिजाइनमा पनि परिवर्तन गरिएको छ। अगाडिको भागमा नयाँ डिजाइनको चाँदी रङको ग्रिल जस्तो प्यानल र पातला हेडलाइटहरू राखिएका छन्। तलको बम्परमा ठाडो कुलिङ खुला भाग र बीचमा ट्रेपेजोइडल आकारको इन्टेक राखिएको छ।

नयाँ एटो थ्रीमा १८ इन्च र १९ इन्चका ह्वील विकल्प उपलब्ध छन्। साथै सेमि हिडन डोर ह्याण्डल र दुई रङको बडी विकल्प पनि छन्। पछाडि पूर्ण चौडाइको लाइट प्यानल, दुई भागमा भएको माथिल्लो ब्रेक लाइट र पछाडिको झ्यालको वाइपर राखिएको छ।

कम्पनीले आधिकारिक घोषणा नगरे पनि नयाँ एटो थ्री यही वर्षको मध्यतिर बजारमा आउने अनुमान छ ।

एटो थ्री बीवाइडीको सबैभन्दा धेरै निर्यात हुने इलेक्ट्रीक गाडीमध्ये एक हो। यसको युरोप, दक्षिणपूर्व एशिया, अष्ट्रेलिया लगायत बजारमा निकै बलियो उपस्थिति छ ।

नेपाली बजारमा पनि बीवाइडी गेम चेन्जर मोडल हो ।


Back_to_top