काठमाडौं । नेपाली कार बजारमा हुन्डाईको बजार हिस्सा परिवर्तन गर्न सक्ने विद्युतीय मोडलको खोजी भइरहेको छ । चिनियाँ ईभीको बाक्लो उपस्थिति रहेको हाम्रो बजारमा कोरियन कार निर्माता लामो समयदेखि ‘टप’ स्थानमा थियो ।
सन् २०२२ पछि बढेको ईभीको बिक्रीमा हुन्डाई केही पछाडि धकेलियो । त्यसको मुख्य कारण कारको मूल्य हो । कोरियन कार निर्माताले निकै राम्रा उत्पादन बजारमा ल्याएको भए पनि बजारको माग अनुसारको मूल्य नहुँदा संख्यात्मक बिक्री हुन सकेन ।
आफ्नो गुमेको ताज फर्काउने रणनीतिमा हुन्डाई र उसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मिहिनेत गरिरहेको छ । तर, उसलाई प्रोडक्टले ठूलो साथ दिन सकिरहेको छैन । त्यसैले नेपालको लागि ‘गेम चेन्जर प्रोडक्ट’को खोजी भइरहेको छ ।
विद्युतीय कार सेग्मेन्टमा दुई मोडलबाट ‘मार्केट लिड’ गरेको हुन्डाई पछिल्लो दिनमा पक्कै पछाडि परेको हो । कम्पनीले आफ्नो दुई मोडल कोना ईभी र आयोनिक फाइभको सहायताले ईभी बजार प्रति नै विश्वास बढाएको थियो । तर, सरकारी नीति बारम्बार परिवर्तन हुँदाको मारमा यी दुवै मोडल परेका थिए ।
सानो ईभी हुन सक्छ ‘गेम चेन्जर’
हुन्डाई मोटर्सले अहिले परीक्षण गरिरहेको चार मिटरभन्दा छोटो ईभी साँच्चै गेम चेन्जर हुने देखिन्छ । कम्पनीले एक्सटर एसयूभीमा आधारित रहेर उत्पादन थाल्न लागेको सानो एसयूभी यही वर्ष बजारमा आउने छ ।

कम्पनीको इन्ट्री लेभल ईभीको रूपमा आउने एक्सटरमा दुई ब्याट्री अप्सन रहने बताइएको छ । सम्भवतः ३९ किलोवाट आवर र ४८ किलोवाट आवरको दुई ब्याट्री प्याक रहने अनुमान गर्न सकिन्छ । यसमा १०० किलोवाटभन्दा कम क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।
हुन्डाई एक्सटर पेट्रोलमा सेग्मेन्टमा पनि सफल मोडल हो । यसमा भोइस इनएबल स्मार्ट इलेक्ट्रीक सनरुफ, डिउल क्यामरा सहितको ड्यासक्याम, प्याडल सिफ्टर, रियर एसी भेन्ट, फुटवेल लाइटिङ, वायरलेस फोन चार्जर, एलेक्सा भोइस कमाण्ड जस्ता फिचर रहने छन् ।
कम्पनीले सुरक्षाका लागि पनि एक्सटरमा सेग्मेन्ट फर्स्ट ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट, डाइनामिक गाइड लाइनसहितको रियर भ्यू क्यामरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी मेनेजमेन्ट जस्ता फिचर रहेको छ ।
सर्भिसको बलियो साथ
हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २०१८ मा पहिलोपटक ईभी आयात गरेको थियो । आयोनिक सेडान र कोना इलेक्ट्रीक एसयूभी दुवै मोडल बिक्री थाल्दा नै कम्पनीले बलियो सर्भिस सेन्टर निर्माण गरेको थियो ।
अहिले पनि हुन्डाईले उपत्यका र उपत्यका बाहिरका बजार क्षेत्रमा सर्भिस सेन्टर चलाइरहेको छ । आफ्नो लामो लिगेसीमा काम गर्दै बलियो सर्भिस सुविधा प्रदान गरिरहेको छ । कम्पनीले पार्टसको मूल्य पनि पनि तुनात्मक रूपमा ‘रिजनेबल’नै राखेर बिक्री गर्दै आएको छ ।


