काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य बढाएको छ ।
निगमले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएको छ । त्यस्तै, निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो ।
मूल्य समायोजनसँगै पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १६९.५० रुपैयाँ, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य बढेसँगै पहिलो वर्गका लागि प्रतिलिटर १४९.५० रुपैयाँ, दोस्रो वर्गमा १५१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
अमेरिका-इजरायल-इरान बीचको युद्धका कारण भारतबाटै पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ र डिजेल मट्टीतेलको ५४ रुपैयाँ बढेर आएको छ । तर, उपभोक्तको हितलाई मध्येनजर गर्दैै कम मात्रमा मूल्य बढाइएको निगमले जनाएको छ ।
मूल्य समायोजना पछि पनि आगामी १५ दिनमा ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


