काठमाडौं । नेपाली क्रिकेटको महासंग्राम तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने दर्शकका लागि कीर्तिपुरको ३ स्थानमा पार्किङको व्यवस्था गरिएको हो ।
दर्शकको सुविधाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुर नगरपालिकासँगको समन्वयमा ३ स्थानमा पार्किङको व्यवस्था गरेको हो ।
क्यानका सचिव पारस खड्काका अनुसार ल्याब स्कुलनजिक, चोभार गेट पछाडिको खुला चौर र आयुर्वेदिक अस्पताल क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ ।
यद्यपि, उक्त स्थानमा सवारी साधन राखेपछि दर्शकले केही दूरी पैदल हिँडेर मैदान पुग्नुपर्ने उनले बताए । टिकट काउन्टर अघिल्लो वर्षकै स्थानमा रहने उनले जानकारी दिए ।
‘कीर्तिपुर नगरपालिकासँगको समन्वयमा ल्याबस्कुल नजिक, चोभार गेट पछाडिको खुला चौरमा, आयुर्वेदिक हस्पिटल अगाडि पनि पार्किङको व्यवस्था गरिएको छ । दर्शकहरूलाई तोकिएको ठाउँमा पार्किङ गरेर अलिकति हिँडेर स्टेडियममा आउन सक्नुहुनेछ,’ उनले भने ।
जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न क्यानले सबैमा अनुरोध समेत गरेको छ ।
आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुने एनपील आगामी मंसिर ५ गतेसम्म संचालन हुनेछ । प्रतयोगितामा ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउने छ ।

