‘पावर ट्रेन’मा लाइफ टाइम वारेन्टी भएको बीवाइडी ई-२

काठमाडौं । बीवाइडी (ब्यूल्ड योर ड्रीम) ले आफ्नो ई-२ ह्याचव्याक कार चिनियाँ बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले २०२२ को सुरुवातबाट बिक्री बन्द गरेको ई-२ ह्याचव्याक मोडल ब्यापक परिमार्जन गरेर ल्याएको हो ।

यसअघिका अन्य मोडल बजारमा आउनु अगाडि नै जसरी चर्चित बनेका थिए । त्यो चर्चा भने ई-२ ले पाउन सकेको छैन । सन् २०१९ बाट उत्पादन गरेर यो मोडललाई भाडा चलाएको कम्पनीले अहिले भने प्लेटफर्म, डिजाइन र पावर पनि परिवर्तन गरेर ल्याएको हो ।

अहिले बीवाइडी सिगेल इन्ट्री लेभल ह्याचब्याकले गज्जप बजार पाइरहेको अवस्था छ । चीनमा सिगेलको बिक्री मासिक २८ हजार यूनिट हाराहारी पुगेको छ ।

तर, ई-२ मोडलको बिक्री उत्साहजनक छैन । हेर्दा निकै आकर्षक डिजाइनमा भएपनि चिनियाँ ग्राहकले यसमा खासै चासो नदिएको बुझ्न सकिन्छ । कम्पनीले अप्रिल २०२३ बाट बिक्री सुरु गरेको ई-२ले उक्त महिना २ हजार ९५ यूनिट बिक्री पाएको थियो ।

त्यसपछि मे महिनामा ४ हजार ७२३ यूनिट बिक्री भएको ई-२ मोडल जुनमा घटेर ३ हजार ५७२ र जुलाईमा आइपुग्दा अझै घटेर २ हजार ५५० यूनिटमा झरेको हो । बीवाइडीले यसको बिक्री बढाउन स्कीम पनि संचालन गरिरहेको छ । कम्पनीले यसमा २ वर्षको लागि निःशुल्क इन्टरनेट कनेक्सन र पावर ट्रेन सिस्टममा लाइफ टाइम वारेन्टी प्रदान गरेको छ ।

बीवाइडीको ई-प्लेटफर्म ३.० मा आधारित ई-२ को लम्बाई ४२६० एमएम, चौडाई १७६० एमएम र उचाई १५३० एमएम रहेको छ । यसमा २६१० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक छ । डी सेपमा तयार भएको स्टेरिङ ह्वील, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, आरामदायी सिट पाउन सकिन्छ ।

कम्पनीले यसमा ४३.२ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको यो कारले ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।


Back_to_top