काठमाडौं । नेपाली बजारमा उपलब्ध बीवाइडीको एम थ्री र प्यूजोको पाटर्नर टीपी बीचमा कडा प्रतिस्पर्धा हुने दखिएको छ । यी दुई इलेक्ट्रीक कारमा मूल्यको फाइदा बीवाइडीलाई हुने छ भने ब्राण्डको फाइदा प्यूजोलाई हुनेछ ।
बीवाइडी चिनियाँ ब्रान्ड हो भने प्यूजो फ्रेन्च अटो उत्पादक कम्पनी हो । प्यूजो सबै कारका कार निर्माणको लागि विश्वमा चर्चित रहेको छ भने बीवाइडी इलेक्ट्रीक सवारीसाधन र व्याट्री उत्पादनको लागि चर्चित नाम हो ।
बीवाइडीका इलेक्ट्रीक कार नेपाली बजारमा साइमेक्स इन्कले बिक्री वितरण गरिरहेको छ भने प्यूजोको बिक्री वितरक साङ्ग्रिला मोटर्सले गर्दै आएको छ ।
प्यूजोको ‘पाटर्नर टीपी’ पाँच सिट क्षमताको गाडी हो भने बीवाइडी एम–३ मा ५ र ७ दुबै सिट अप्सन रहेको छ । विशेष गरेर धेरै मानिसको ओसार पसारमा बीवाइडीले ध्यान दिएको छ भने प्यूजोले ५ जना मानिस र धेरै लगेज बोक्न सक्नेगरि आफ्नो गाडी बनाएको छ ।
प्यूजोको पाटर्नर टीपीको मूल्य ६० लाख रुपैयाँ निर्धारण गरिएको छ भने बीवाइडी एम ३ को मूल्य ४५ लाख रुपैयाँ तोकिएको छ । मूल्यका हिसावले बीवाइडीको गाडी १५ लाख रुपैयाँ सस्तो रहेको छ ।
पाटर्नर टीपीमा २२.५ किलोवाट आवर क्यापासीटीको लिथियम आयन व्याट्री र ४९ किलोवाटको मोटर प्रयोग गरिएको छ । जसले एकपटको फूल चार्जमा १७० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।
बीवाईडी एम–३ मा ११० किलोवाटको इलेक्ट्रीक मोटर र ५०.३ किलोवाट पर आवरको व्याट्री दिइएको छ । उक्त व्याट्रीले एकपटकको फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ । यो कारको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।
व्याट्री पावर, मोटर र रेञ्जमा बीवाइडी एम थ्री प्यूजो पाटर्नर टीपीभन्दा निकै अगाडि रहेको छ ।
प्यूजोले आफ्नो पहिलो इलेक्ट्रीक कारलाई सन् २०१७ मा सार्वजनिक गरेको हो । बीवाइडीले एम ३ लाई २०१४ मा पहिलो पटक सार्वजनिक गरेको हो ।


