काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाइडीले आफ्नो उत्पादन बढाउन ९ हजारभन्दा बढी कर्मचारी थप्ने भएको छ । कम्पनीले चीनको शेनसान विशेष सहकार्य क्षेत्रमा रहेको आफ्नो कम्पोनेन्ट प्लान्ट र सवारी उत्पादन प्लान्टको लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले अपरेटर, प्राविधिक, गुणस्तर निरीक्षकदेखि व्यवस्थापन तहसम्मका विभिन्न पदमा कर्मचारी भर्ना गर्ने जनाएको छ । यसअन्तर्गत सियाओमो प्लान्टमा ४ हजार ८ सय, अर्को डिभिजनमा १ हजार २ सय र एबु प्लान्टमा २ हजार कर्मचारी माग गरिएको हो ।
कम्पनीले मागेको सामान्य अपरेटरको मासिक तलब ५ हजार युआनबाट सुरु हुनेछ। वेल्डर र इलेक्ट्रिसियन जस्ता दक्ष प्राविधिकले १० हजार युआनसम्म तलब पाउने छन् । जबकि वरिष्ठ प्राविधिक तथा मोल्ड डिजाइनरले १५ हजारदेखि २० हजार युआनसम्म मासिक कमाउन सक्ने कम्पनीले जनाएको छ ।
बीवाइडीले कर्मचारी संख्या बढाउनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग सम्बोधन गर्न भनेको छ । सन् २०२५ मा कम्पनीले १० लाख ५० हजार युनिट विद्युतीय कार र पिकअप विदेशी बजारमा बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १४५ प्रतिशत बढी हो ।
सन् २०२६ को पहिलो ६ महिनामा मात्रै कम्पनीको विदेशी बजारमा ७ लाख ८९ हजार ४ सय युनिट कार बिक्री गरिसकेको छ । जुन वार्षिक आधारमा ७० प्रतिशतको वृद्धि हो । कम्पनीले यस वर्ष विदेशी बजारमा १५ लाख युनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।


