अब वेबसाइटबाटै लाइसेन्स डाउनलोड गर्न मिल्ने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को पीडीएफ फाइल डाउनलोड गर्न मिल्ने भएको छ ।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि प्रयोगमा ल्याएको नयाँ अनलाइन प्रणालीमार्फत (ईडडीएलभीआरएस) लाइसेन्स डाउनलोड गर्न मिल्ने फिचर राखिएको हो ।

विभागले साउन १ देखि सातै प्रदेशका लागि फरक फरक वेबसाइट संचालनमा ल्याएको छ । सेवाग्राहीले आफ्नो प्रदेशको ईडीएलभीआरएस प्रणालीमा लाइसेन्सको पीडीएफ फाइल डाउनलोड गर्न सक्नेछन् ।

यद्यपि, यसरी डाउनलोड गरेको लाइसेन्स ट्राफिक प्रहरीलाई भने मान्य हुने छैन । हालसम्म पीडीएफ लाइसेन्स मान्य हुने कुनै औपचारिक निर्णय जानकारीमा नआएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ट्राफिक चेकिङको क्रममा नागरिक एपमा भएको र क्यूआर/चिप भएको स्मार्ट लाइसेन्सले मात्र मान्यता पाउँछ । यातायात व्यवस्था विभागले पनि यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।

यसरी गर्नुहोस् लाइसेन्सको पीडीएफ डाउनलोड

-सबैभन्दा पहिला आफ्नो प्रदेशको ईडीएलभीआरएस खाेल्नुहाेस् गर्नुहोस् । त्यसपछि  इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्समा क्लिक गर्नुहोस्  ।

– त्यसपछि खुल्ने होमपेजको तल बाँयापट्टी रहेको ड्राइभिङ लाइसेन्स डिटेल्समा क्लिक गर्नुहोस् ।

-त्यसपछि एउटा बक्स खुल्छ । त्यसमा आफ्नो नाम, लाइसेन्स नम्बर र जन्ममिति इन्ट्री गर्नुहोस् ।

-त्यसपछि तपाईंको नाममा रजिस्टर भएको मोबाइल नम्बरमा ओटीपी आउँछ । उक्त ओटीपी राख्नुहोस् ।

-त्यसपछि तपाईंको लाइसेन्स सम्बन्धी विवरण खुल्छ । त्यसको तल डाउनलोड भन्ने अप्सनमा क्लिक गरी फाइल डाउनलोड गर्नुहोस् ।


Back_to_top