कम मूल्यको इलेक्ट्रीक गाडीमा बीवाइडी अगाडि, एटो थ्री चाँडै आउने

काठमाडौं । बजेटले १०० किलोवाट क्षमताभन्दा माथिका गाडीमा कर थपेसँगै किया र एमजीसँग कम मूल्यको गाडी नै नहुने अवस्था देखिएको छ । तर, विगत ५ वर्षदेखि बीवाइडीका विद्युतीय गाडी विक्री गर्दै आएको साइमेक्स इंकसँग अहिले दुई मोडलमा १०० किलोवाटभन्दा कम क्षमताको मोटर छ ।

साइमेक्सले विक्री गर्ने इ–सिक्स र एम थ्री इलेक्ट्रीक भ्यान १०० किलोवाटभन्दा कम क्षमताका मोटर रहेको सवारीसाधन हुन् । कम्पनीले निकै हल्लाखल्ला सहित ल्याउन लागेको एटो थ्री मोडल भने भन्सार र अन्तःशुल्क बढ्दा समस्या हुने देखिएको छ । कम्पनीले यसअघि ६२ लाख हाराहारीमा विक्री गर्ने योजना बनाएको एटो थ्री अब ८० लाख हाराहारी मूल्यमा आउने अनुमान सुरु भएको छ ।

साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठको अनुसार सरकारले भन्सार र अन्तःशुल्क वृद्धि गरेको भएपनि एटो थ्री तोकिएको योजना अनुसार चाँडै नेपाली बजारमा उपलब्ध हुनेछ ।

‘नागरिकले विद्युतीय गाडी चढ्न थालेसँगै सरकारले कर बढाएको छ । सरकारले नै आफ्नो नीति तथा कार्यक्रममा विद्युतीय साधनको प्रयोग बढाउने कुरा उल्लेख गर्दै आएकोले निजी क्षेत्रले तत्काल कर नबढ्ने भनेर चार्जिङ पूर्वाधार निर्माणमा लगानी गर्न थालेका थिए । तर, सरकारले कर बढाएसँगै समस्या सुरु भएको छ’, श्रेष्ठले मेरोअटोसँग भनिन् ।

कम्पनी स्रोतका अनुसार आगामी जुलाई महिनामा एटो थ्री नेपालमा विक्री सुरु हुने अपेक्षा गर्न सकिन्छ ।

चल्तीको नयाँ इ–सिक्स

नयाँ जेनेरेशन इ–सिक्स बीवाइडीको उत्कृष्ट गाडी बन्दै गएको छ । कम्पनीले यसमा ७० किलोवाट क्षमताको मोटर दिएको छ । लामो साइज, फराकिलो चौडाई र आधुनिक फिचरको कारण इ सिक्स किन्ने मानिस बढ्दै गएको कम्पनी स्रोतले बताएको छ । यसमा बीवाइडीको ब्लेड ब्याट्री छ, यसलाई निकै टिकाउ र सुरक्षीत ब्याट्री मानिन्छ । कम्पनीले यसमा रहेको ब्याट्रीमा ४ हजार चार्जिङ साइकल चल्ने दाबी गरेको छ । जुन कुनै पनि कम्पनीले विक्री गर्ने इभीको तुलनामा धेरै हो ।

नयाँ जेनेरेशन बीवाइडी इ–सिक्सको लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । जसको कारण गाडी निकै फराकिलो र स्पेसियस पाउन सकिन्छ ।

बीवाइडीले यसमा २८०० एमएमको ह्वीलवेस, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र ५८० लिटरको बुट स्पेश दिएको छ । साथै, यसमा १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

इ–सिक्सको इन्टेरियर पनि निकै सार्प छ, ५ इन्चको टीएफटी डिस्प्ले, लेदर र्याप स्टेरिङ ह्वील, टिल्ट एण्ड टेलिस्कोपिक एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पिकर, प्रशस्त लेगरुम, लेदर सिट, ६ तरिकाले मिलाउन मिल्ने अगाडिको सिट जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाको हिसाबले पनि इ सिक्स उत्कृष्ट छ । यसमा इलेक्ट्रीक पार्किङ ब्रेक, भेहिकल डाइनामिक कन्ट्रोल सिस्टम, ब्रेक ओभिरेड सिस्टम, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट सिस्टम, एयरब्याग, स्मार्ट की सिस्टम, पछाडि ४ वटा सेन्सर पाउन सकिन्छ ।

एम थ्री भ्यान

बीवाइडीले नेपालमा विक्री गर्ने एम थ्री भ्यानमा ४४.९ किलोवाट आवरको ब्लेड व्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान भएको छ । यसमा रहेको व्याट्री ४ हजार साइकल चल्ने भएकाले करिब २० वर्षसम्म केही नहुने कम्पनीको दावी छ । यसलाई एक पटकको फुल चार्जमा २७५ किलोमिटर गुडाउन सकिन्छ ।

साइमेक्स इंकले ५ र ७ सिट क्षमतामा ल्याउने यो भ्यान निकै आरमदायी रहेको छ । प्रिमियम सिट, किलेस इन्ट्री, सुरक्षाको लागि अगाडि चालक र यात्रुको लागि एयरव्याग, सिट बेल्ट रिमाइन्डर, स्पीड सेन्सिङ लक, सेन्सर राडार, एन्टी थेप्ट सिस्टम, एबीएस, इबीडी, इलेक्ट्रीक पार्किङ ब्रेक, इलेक्ट्रीक ब्रेक फोर्स डिस्ट्रीव्यूसन, ब्रेक ओभररिड सिस्टम जस्ता फिचर यसमा रहेका छन् ।

बीवाइडीले भ्यानमा अटोमेटीक हेडल्याम्प, फलो मि होम, हेडलाइट एड्जस्टर, अगाडि र पछाडि दिइएको फगल्याम्पले चालकलाई निकै सहज बनाउँछ । विशेषत पर्यटन क्षेत्रको लागि उपयोगी यो भ्यान निकै किफायती रहेको छ ।

मूल्य

बीवाइडी इ सिक्सको मूल्य ५७ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै एमथ्रीको ७ सिट अप्सन मात्रै अहिले उपलब्ध रहेको छ । यसको मूल्य ४२ लाख ५० हजार रुपैयाँ रहेको छ । पहिलो जेनेरेशन इ सिक्सको मूल्य ५० लाख रुपैयाँ रहेको छ ।


Back_to_top