यही साता सार्वजनिक हुँदै थर्ड जेन एटो थ्री, भएको छ ठूलो परिवर्तन

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडीले तेस्रो जेनेरेसनको एटो थ्री (युवान प्लस) यही साता सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले सोमबार वेबोमार्फत वैशाख ११ गते (अप्रिल २४)देखि सुरू हुने ‘२०२६ बेइजिङ अटो शो’ मा नयाँ एटो थ्री सार्वजनिक गर्ने जानकारी दिएको हो ।

बीवाइडीले नयाँ एटो थ्री हालकोभन्दा धेरै परिवर्तन गरेर ल्याएको छ । कम्पनीले यसमा नयाँ प्रविधि, नयाँ ब्याट्री र आफ्नो नयाँ डाइनास्टी सिरिजका मोडलको जस्तै डिजाइन दिएको छ ।

नयाँ एटो थ्रीमा रियर ह्वील ड्राइभ प्लेटफर्म, दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ सुविधा प्रयोग गरिएको छ ।

यसको अगाडिको भागमा चाँदी जस्तै चमक भएको ग्रिल र पातला आकर्षक हेडलाइटहरू छन् । बम्परको दुवै छेउमा हावा छिर्ने भेन्टहरू र बीचमा कुलिङ ग्रिल राखिएको छ । गाडीको पछाडिको भागमा दुई खण्डमा बाँडिएको ब्रेक लाइट र वाइपर रहेको छ । यसको टेललाइटहरू एकै ठाउँमा जोडिएर वारपार देखिने गरी बनाइएको छ, जसले गर्दा गाडी निकै आधुनिक देखिन्छ ।

नयाँ एटो थ्रीको क्याबिन थप व्यवस्थित, सफा र सरल देखिन्छ । यसको सेन्टर कन्सोल र ड्यासबोर्डमा बीवाइडीका नयाँ गाडीमा जस्तो होरिजन्टल लेयरिङ प्रयोग गरिएको देखिन्छ । यो शैलीले गाडीको भित्री भागलाई अझ फराकिलो महसुस गराउँछ ।

नयाँ एटो थ्रीमा ५७.५४ किलोवाट आवर वा ६८.५५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ । जसले एकपटकको फूल चार्जमा क्रमशः ५४० किमी र ६३० किमी सीएलटीसी रेन्ज दिनेछ । नयाँ एटो थ्री २०० किलोवाट र २४० किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध हुनेछ।

दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधिले गर्दा यसको चार्जिङ क्षमता निकै प्रभावशाली छ । फ्ल्यास चार्जिङ प्रविधिका कारण यो गाडी मात्र ५ मिनेटमा १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन सक्छ भने ९ मिनेटमा १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन सक्छ । माइनस ३० डिग्री सेल्सियसमा पनि यसको चार्जिङ समय सामान्यभन्दा ३ मिनेट मात्र बढी लाग्नेछ ।

नयाँ एटो थ्रीको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६७५ एमएम छ । यसमा २७७० एमएमको ह्वीलबेस रहेको छ । यो हालको एटो थ्रीभन्दा निकै ठूलो हो ।

यसमा १८ वा १९ इन्चका ह्वील, सेमि हिडन डोर ह्याण्डलहरू र ग्राहकको चाहना अनुसार रङ छान्न मिल्ने डी पिलर प्यानलहरू रहेका छन् ।

एटो थ्री नेपालमा पनि निकै चर्चित मोडल हो । बीवाइडीका गाडी साइमेक्स इंकले बिक्री गर्दै आएको छ ।


Back_to_top