कारको आयात खुल्ला भएसँगै मूल्य पनि बढ्ने

काठमाडौं । विभिन्न दुई दर्जनभन्दा धेरै ब्राण्डले नेपालमा कार विक्री गर्दै आएका छन् । विशेषगरी भारतीय, कोरियन, चिनियाँ, जापानी, यूरोपियन र अमेरिकी ब्राण्डहरु नेपालमा विक्री वितरण हुँदै आएका छन् ।

भारतमा उत्पादन हव बनाएका अधिकांश ब्राण्डका कार नेपाली बजारमा विक्री हुँदै आएको छ । भारतीय बजारको लागि उत्पादन भएका मोडल नै नेपाली बजारमा आउने गरेको तथ्यांकले देखाउँछ ।

अहिले विभिन्न देशबाट आयात हुने देखिएपनि नेपालमा विक्री हुने ९५ प्रतिशत कार भारतमा उत्पादन भएका हुन् । बाँकी चीन, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, यूरोप र अमेरिकाबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले विगत ९ महिनादेखि नयाँ गाडीको एलसी खोल्न दिएको छैन । सुरुमा चैतको तेस्रो साताबाट राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न बन्देज लगाएको थियो भने बैशाख १४ गतेबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै आयात प्रतिबन्ध लगाएको थियो ।

लामो प्रतिबन्धको कारण गाडी आयात ठप्प भएको अवस्थामा सरकारले पुस १ गतेबाट आयात खुल्ला गरेको छ । आयात भएपनि अधिकांश ब्राण्डले २०२२ मोडलका गाडी नल्याउने योजना तया गरेका छन् । डिसेम्बर महिनामा २०२२ मोडल मगाउँदा केही दिन मै उत्पादन वर्ष फेरिने कारण देखाउँदै तत्काल गाडी आयात नगर्ने योजना कम्पनीहरुले बनाएका हुन् ।

आयात प्रतिबन्ध लागेको समयमा नै भारतमा दुई पटक मूल्य परिवर्तन भइसकेको कारण नेपालमा पनि जनवरीबाट आउने कारको मूल्य बढ्ने संकेतहरु देखिएका छन् । भारतमा करिब २० हजारदेखि ५० हजारसम्म एक्स शोरुम मूल्य बढेको कारण नेपाल आउने गाडीमा पनि केही मूल्य बढ्ने व्यवसायीहरुको भनाइ छ ।

‘वर्षमा दुई पटक उत्पादकले मूल्य समायोजन गर्ने चलन छ । यस वर्ष गाडी आयात नहुँदा मूल्यको कुरै भएन । अब आयात हुने मोडल केही मूल्य बढेर आउने छन् । त्यसको लागि कति बढ्छ भन्ने एकिन गर्न जनवरीसम्म कुर्नुपर्छ’, एक गाडी विक्रेताले भने ।


Back_to_top