अर्को महिना सार्वजनिक हुँदै ५ नयाँ एसयूभी

काठमाडौं । जनवरी २०२३ मा विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्ने तयारी थालेका छन् । भारतको ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ मा मारुती सुजुकी, हुन्डाई, किया लगायतका ब्राण्डले नयाँ एसयूभी देखाउने तयारी गरेका हुन् ।

अटो एक्स्पोमा आफ्ना नयाँ मोडल प्रदर्शनी गर्दै ग्राहकलाई आकर्षित गर्न सबै कम्पनीले प्रयास गर्ने छन् । साथै, गाडी किन्न चाहने मानिसले भविष्यमा कस्ता गाडी आउँछ भन्ने अनुमान यस्तै एक्स्पोबाट गर्ने हुन् ।

अटो एक्स्पो २०२३ मा मारुती सुजुकीले दुई नयाँ मोडल देखाउने तयारी गरेको छ । कम्पनीले एउटा क्रसओभर एसयूभी र अर्को अफरोड एसयूभी मोडल बजारमा ल्याउने तयारी गरेको हो । कम्पनीले ल्याउने क्रसओभर मोडल वाईटीबी उत्पादन कोड नेम दिएर काम गरिरहेको छ ।

मारुती सुजुकीको पहिलो क्रसओभर मोडल कम्पनीकै बलेनो ह्याचव्याकमा आधारित रहने अनुमान गरिएको छ । सम्भवत कम्पनीले यसमा बलेनोमा दिएको के१२सी ड्यूलजेट पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ९० बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ ।

मारुती सुजुकीले ल्याउने अर्को मोडल जिम्नी हो । जापानमा उत्पादन भएको जिम्नी ३ ढोकामा मात्रै उपलब्ध रहेकोमा कम्पनीले भारतमा ५ ढोका अप्सनमा जिम्नी ल्याउन लागेको हो । एड्भेन्चर ड्राइभिङ चाहनेको लागि यो मोडल निकै उपयोगी हुने अपेक्षा गर्न सकिन्छ ।

मारुती सुजुकीले जिम्नीमा के१५सी पेट्रोल इन्जिन दिने अनुमान गरिएको छ । अहिले कम्पनीले विक्री गर्दै आएको ब्रेजामा पनि यहि इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम १०३ बीएचपी पावर र १३५ एनएम टर्क प्रदान गर्छ ।

अटो एक्स्पो २०२३ मा कोरियन निर्माता कियाले पनि सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्नेछ । कम्पनीले सन् २०१९ मा पहिलो पटक सार्वजनिक गरेको सेल्टोसको अगाडिको फेसिया, लाइट, ह्वील, स्कीड प्लेटमा राम्रै परिवर्तन देख्न पाइने छ ।

कियाले सेल्टोसको मेकानिकल पार्टस् भने परिवर्तन गर्ने छैन । कम्पनीले यसमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर टर्बो इन्जिन दिएर ल्याउने छ ।

टोयोटाले पनि भारतमा नयाँ क्रसओभर मोडल बजारमा ल्याउने छ । यसअघि विक्री हुँदै आएको इनोभा किष्टाको स्थानमा ‘इनोभा हाइक्रस’ सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले निकै स्पोर्टी लुक्समा तयार गरेको इनोभा हाइक्रसमा २.० लिटर हाइब्रिड टेक्नोलोजीमा आधारित इन्जिन दिने छ ।

निकै फिचर लोडड क्रसओभरको रुपमा आउने इनोभा हाइक्रसमा ३६० डिग्री क्यामेरा, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, इलेक्ट्रीक सनरुफ पाउन सकिन्छ ।

क्रेटा फेसलिफ्ट अर्को अटो एक्स्पोमा देख्न पाइने नयाँ मोडल हुन सक्छ । सन् २०२० अटो एक्स्पोबाट विक्री सुरु भएको क्रेटा हुन्डाईको निकै सफल मोडल हो । हुन्डाई क्रेटाको नयाँ भर्सन इन्डोनेशियामा अघिल्लो वर्षबाटै विक्री सुरु भएको कारण भारतमा पनि क्रेटा फेसलिफ्ट बजारमा आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top