नयाँ कार किन्नेले धेरै खोज्ने १० एशोसरीज

काठमाडौं । नयाँ कार किन्ने ग्राहकले गाडी लिएर घर जानुअघि नै एशोसरीज पलसमा गाडी लग्ने गरेका छन् । काठमाडौंको हकमा सर्वाधिक धेरै एशोसरीज पसलहरु कुलेश्वर एरियामा संचालन भएका छन् ।

कुलेश्वरलाई कारमा लाग्ने एशोसरीजको हब मान्न सकिन्छ । यहाँ जुनसुकै ब्राण्डका कारमा लाग्ने एशोसरीजहरु पाउन सकिन्छ ।

कार एशोसरीज भन्नाले कारमा प्रयोग हुने तर, कम्पनीले नदिएका बस्तुलाई मान्नु पर्छ । कार कभर, मड गार्ड, बम्पर गार्ड, लाइट क्रोम, साँचोको कभर, डोर गार्ड, स्टीकर, गियर नब कभर, भ्याकुम क्लिनर, क्लिनिङ डस्टर, टुल किट, कार पोलीस, फुट म्याट, डोर भाइजर, सिट कभर, मोवाइल होल्डर, विभिन्न किसिमका कुशनहरु एशोसरीकोरुपमा बजारमा उपलब्ध रहँदै आएको छ ।

साना गाडीलाई ठूलो देखाउने रुफरेल, फ्रन्ट बम्पर गार्ड, पछाडिको बम्पर गार्ड, कार्पेट, पर्फियुम जस्ता बस्तुहरु एशोसरीजको रुपमा कार खरिद गर्ने मानिसहरुले खरिद गर्ने गरेको पाइन्छ ।

यस्ता बस्तु मध्ये सर्वाधिक रुपचाइएका एशोसरीज निम्न प्रकारका छन् ।

१. डोर भाइजरः नयाँ गाडीमा डोर भाइजरको प्रयोग भएको हुँदैन । विशेषत वर्षातको समयमा बाहिर सानो तिनो पानी पर्दा पनि गाडीको झ्याल खोल्न नमिल्ने भएकोले मानिसहरुले डोर भाइजरको प्रयोग गर्ने गरेका छन् ।

विशेषत विदेशमा कारमा यात्रा गर्ने मानिसले झ्याल खुल्ला राख्दैनन् र उत्पादकले पनि भाइजर राख्न उपयुक्त मान्दैनन् । तर, नेपालमा झ्यालको सिसा खोलेर यात्रा गर्ने धेरै पाइन्छ । त्यसैले डोर भाइजर अनिर्वाय जस्तै भएको छ । यसलाई ग्राहकले एक हजारदेखि २ हजार मूल्यमा सहजै हाल्न पाउँछन् ।

२. मड गार्डः गाडीको टायरले फ्याक्ने हिलोलाई केही हदसम्म नियन्त्रण गर्न मड गार्डको प्रयोग हुने गरेको छ । यसलाई गाडीको चारवटै चक्कामा प्रयोग गर्न सकिन्छ । एक हजारभन्दा कम मूल्यमा यस्ता मर्ड गाडी लगाउन पाइन्छ ।

३. फुट म्याटः गाडी निर्माताले फुट म्याटको स्थानमा पेपर प्रयोग गर्ने गरेका छन् । चिसो र हिलोबाट गाडीलाई बचाउन फुट म्याटको प्रयोग अनिर्वाय हुन्छ । अहिले बजारमा २ हजारदेखि १० हजारसम्मको रबर फुट म्याट किन्न पाइन्छ भने त्यो भन्दा महंगा फुटम्याट पनि पाउन सकिन्छ । जुन सुकै गाडी किन्ने ग्राहकले पनि फुट म्याटको प्रयोग गर्ने गरेका छन् ।

४. रिभर्स क्यामेराः सबै गाडीमा रिभर्स क्यामेरा अहिले पनि उपलब्ध रहेको छैन । साथै, पार्किङ सेन्सर पनि पछि थप गर्ने प्रचलन बढी रहेको छ । कतिपय मोडलमा इन्व्यूल्ट रिभर्स क्यामेरा नभएपनि गाडी विक्रेताले थप गरेर विक्री गर्दै आएका छन् ।

५. इन्फोटेन्टमेन्ट सिस्टमः आजकल गाडीमा अनिर्वाय जस्तै बनेको इन्फोटेन्टमेन्ट सिस्टम कम्पनीहरुले पछि थप गर्ने गरेको पाइन्छ । कार निर्माताले आफ्ना इन्ट्री भेरियन्टमा अहिले पनि इन्फोटेन्टमेन्ट सिस्टम नदिने भएकाले ग्राहकहरुले पछि थप गर्दै आएका छन् ।

अहिले पुराना कारमा पनि इन्फोटेन्टमेन्ट सिस्टम थप गर्ने मानिसहरु बढ्दै गएको विक्रेताहरु बताउँछन् ।

६. लाइट क्रोमः अगाडिको हेडल्याम्प, पछाडिको टेल ल्याम्प र फगल्याम्पमा क्रोम फिनिसिङ दिने चलन बढ्दो छ । केही मानिसलाई क्रोम मन नपरेपनि धेरै मानिसले लाइटमा क्रोम हाल्ने गरेका छन् । क्रोमको क्वालीटी अनुसार त्यसको मूल्य लाग्ने गर्छ ।

७. अलोय ह्वीलः पछिल्लो दिनमा स्टील ह्वील कारमा पनि अलोय ह्वील दिन थालिएको छ । बजारमा थुप्रै एशोसरीज विक्रेताले अलोय ह्वील उपलब्ध गराउँदै आएका छन् । यस्तोमा अलोय ह्वील प्रयोग गर्न चाहने मानिसले ६० हजारदेखि १ लाखसम्म अतिरिक्त खर्च गरिरहेको भेट्टाउन सकिन्छ ।

८. सिट कभरः कम्पनीले दिएको सिटलाई सुरक्षीत राख्ने गाडी किन्ने सबैले सिट कभरको प्रयोग गर्ने गरेका छन् । नेपालमा गाडी अत्यन्तै महंगो मूल्य तिरेर किन्नु पर्ने भएकाले पनि ग्राहकले गाडीको सिट बचाउन कभरको प्रयोग गर्ने गरेको पाइन्छ । अहिले बजारमा ५ हजारदेखि ३० हजारसम्म मूल्य पर्ने सिट कभर किन्न पाइन्छ ।

९. फ्लोरिङः गाडीमा हुने धुलोलाई सहजै सफा गर्न सकियोस् भनेर फ्लोरिङ गराउने मानिसहरु बढ्दै गएका छन् । विशेषत गाडीमा दिइएको कार्पेटलाई जोगाउन माथिबाट रेग्जीनको फ्लोरिङ गर्ने गरिन्छ । यसलाई सहजै कपडा चिसो बनाएर पुछ्न सकिने भएकोले ग्राहकले यसलाई खुब मनपराई रहेका छन् ।

१०. बम्पर गार्डः गाडीलाई बल्की देखाउन बम्पर गार्डको प्रयोग गर्ने गरिन्छ । तर, यो राम्रो काम होइन । गाडी निर्माताले बम्परलाई निकै सफ्ट मेटेरियल प्रयोग गरेर बनाउने गरेका छन् । तर, यहाँ आफ्नो गाडीलाई ठूलो देखाउनकै लागि बम्पर गार्ड प्रयोग हुँदै आएको छ । यदि गाडीले कुनै मानिस वा जनावरलाई ठक्कर दियो भने बम्पर गार्डकाे कारण अकल्पनिय दुर्घटना निम्त्याउन सक्छ ।

 


Back_to_top