काठमाडौं । ह्याचव्याक कार साना, छरिता र फिचर प्याक हुन्छन् । प्रायः मानिसहरुले पहिलो कार खरिद गर्दा ह्याचव्याक कार रोज्ने गर्छन् । सानो बाटोमा पनि सजिलै चलाउन सकिने पार्किङ गर्न, घुमाउन सहज हुने यसको मुख्य विशेषता हो ।
सानो ठाँउमा पार्क गर्न सकिने भएकोले ह्याचव्याक कार अहिले पनि धेरै मानिसको रोजाईमा पर्छ । थोरै बजेट हुनेले इन्ट्री लेवल कार खरिद गर्छन् भने धेरै रकम खर्च गर्न सक्नेको रोजाईमा फिचर लोडेड र आरामदायी कार पर्छन् । यी दुबै किसिमका ग्राहकलाई ह्याचव्याक सेग्मेन्ट उपयुक्त मानिन्छ ।
प्रिमियम ह्याचव्याक सेग्मेन्टमा अहिले हुन्डाईको आई २०, मारुती सुजुकी बलेनो, टाटा अल्ट्रोज र फक्सवागेनको पोलो चल्तीका मोडल हुन् । यस्तोमा यी ४ कारमा रहेका भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
इन्जिनमा फरक
हुन्डाई आई २०, मारुती बलेनो, टाटा अल्ट्रोजमा समान १.२ लिटरको नेचुरल्ली अस्पीरेटेड पेट्रोल इन्जिन उपलब्ध रहेको छ । तर, फक्सागेन पोलोमा भने १.० लिटर टीएसआई (टर्बो) इन्जिन रहेको छ ।
हुन्डाई आई २० र मारुती सुजुकी बलेनोको इन्जिन चार सिलिण्डरको हो भने पोलो र अल्ट्रोजको इन्जिन थ्रि सिलिण्डर हो । पावरको तुलना गर्दा आई २० र बलेनोको पावर समान ८२ बीएच रहेको छ ।

त्यस्तै टाटा अल्ट्रोजको पावर ८५ बीएच र पालोको पावर सबैभन्दा धेरै १०९ बीएच रहेको छ । त्यस्तै टर्कको कुरागर्दा आई २० को ११५ एनएम, बलेनो र अल्ट्रोजको ११३ एनएम रहेको छ । सबैभन्दा धेरै टर्क पनि पोलोको एन्जिनले १७५ एनएम प्रदान गर्छ ।
यी ४ वटै कार समान प्रदुषण मापदण्ड बीएस ६ अनुसारका हुन् । पोलोमा ६ स्पीड गियरबक्स दिइएको छ भने बलेनो, अल्ट्रोज र आई २० मा ५ स्पीड गियरबक्स पाउन सकिन्छ ।
डायमेन्सन
भारतमा सबफोर मिटर सेग्मेन्टले पाउने छुटका कारण यी सबै कारहरुको लम्बाई ४ मिटरभन्दा कम रहेको छ । हुन्डाईको आई २० र मारुती बलेनो दुबैको लम्बाई समान ३९९५ एमएम रहेको छ । अल्ट्रोज ३९९० तथा पोलो सबैभन्दा छोटो ३९७१ एमएम रहेको छ ।
चौडाई सबैभन्दा धेरै आई २० को १७७५ एमएम रहेको छ । अल्ट्रोजका १७५५ एमएम, बलेनाको १७४५ एमएम तथा पोलोको १६८२ एमएम मात्र चौडाई छ । त्यसैले यो सेग्मेन्टमा सबैभन्दा फराकिलो कार आई २० हो ।
उचाईमा भने टाटा अल्ट्रोज अगाडि छ । अल्लट्रोजको उचाई १५२३ एमएम, बलेनोको १५१० एमएम, आई २० को १५०५ एमएम र पोलोको १४६९ एमएम रहेको छ ।

ह्वीलवेसमा आई २० अगाडि रहेको छ । यसमा २५८० एमएमको ह्वीलवेस पाउन सकिन्छ । त्यस्तै, बलेनाको ह्वीलवेस २५२० एमएम, अल्ट्रोजको २५०१ एमएम र पोलोमा २४७० एमएम लामो ह्वीलवेस दिइएको छ ।
नेपाली बाटोमा सबैको चासोको विषय ग्राउण्ड क्यिरेन्स हुने गर्छ । हुन्डाई आई २० र बलेनोमा समान १७० एमएम ग्राउन्ड क्यिरेन्स भएका कार हुन् । पोलोमा १६८ एमएम र टाटा अल्ट्रोजमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
यी कारहरु मध्ये सबैभन्दा धेरै बुटस्पेस अल्ट्रोज र बलेनोमा रहेको छ । यी दुबै कारमा ३३९ लिटरको सामान राख्ने ठाउँ छ । हुन्डाई आई २० मा ३११ लिटर र फक्सवागेन पोलोमा २८० लिटरको बुटस्पेश पाउन सकिन्छ ।
सेफ्टी फिचर
सेफ्टी फिचरलाई तुलना गर्दा टाटा अल्ट्रोज सबैभन्दा सुरक्षीत कार मान्न सकिन्छ । टाटा अल्ट्रोजले ग्लोबल एनक्याप क्रयास टेष्टमा ५ स्टार रेटिङमा पाएको छ । त्यस्तै पोलोले ग्लोबल एनक्यापको ४ स्टारको रेटिङ पाएको छ ।
हुन्डाई आई २० र मारुती सुजुकी बलेनोको रेटिङ भएको छैन । सबै कारमा अगाडि दुबै साइडमा एयरव्याग र इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम स्टायडर्ड फिचरको रुपमा पाउन सकिन्छ ।

यी सबै कारहरुले ८० किलोमिटर प्रतिघण्टाको स्पीडमा ‘बीप’ (आवाज) निकालेर चालकलाई सजक गराउँछ भने १२० किलोमिटरको स्पीड क्रस भएपछि निरन्तर बीप भइरहन्छ ।
कम्फर्ट फिचर
यी सबै कारहरुमा एयर कन्डिसन उपलब्ध रहेका छन् । बलेनोमा भने अटोमेटीक क्लाइमेट कन्ट्रोल सहितको एसी पाउन सकिन्छ । आई २० मा रियर एसी भेन्ट रहेको छ । बाँकी अन्य कारहरुमा पछाडि प्यासेन्जरका लागि एसी भेन्ट दिइएको छैन ।
यी सबै कारको स्टेरिङ टिल्ट एड्जस्ट गर्न मिल्छ । आई २० र पोलोलाई भने टेलिस्कोपीक रुपमा समेत एडजस्ट गर्न मिल्छ । पोलोमा आठ तरिकाले ड्राइभर सीट एड्जस्ट गर्न सकिन्छ भने बाँकी कारहरुमा ६ तरिकाले मात्र सिट एट्जस्ट गर्न सकिन्छ ।

अल्ट्रोज र पोलोको वेस भेरियन्ट देखिनै टचस्कृन सहितको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । तर, बलेनो र आई २० मा मीड भेरियन्टबाट मात्र इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । तर, वेस भेरियन्टमा इन्फोटेन्टमेन्ट चाहने ग्राहकलाई कम्पनीले यही हालिदिने गरेका छन् ।
मूल्य
नेपाली बजारमा हुन्डाई आई २० को म्याग्ना र स्पोर्टज भेरियन्ट मात्र उपलब्ध रहेको छ । यी दुई भेरियन्टको मूल्य क्रमशः ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार तोकिएको छ ।
त्यस्तै सुजुकी बलेनोको डेल्टा भेरियन्टको मूल्य ३५ लाख ९९ हजार, जेटाको ३८ लाख ९९ हजार, बलेनो डेल्टा एसएचभीएसको ३८ लाख ९९ हजार, जेटा एसएचभीएसको ४१ लाख ९९ हजार र अल्फाको ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
टाटाको अल्ट्रोजको तीनवटा भेरियन्ट उपलब्ध रहेको छ । जसमा एक्सएमको ३२ लाख ५५ हजार, एक्सटी भेरियन्टको ३५ लाख ५५ हजार तथा एक्सटीको ३८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी फक्सवागेन पोलोको मूल्य हाइलाइन म्यानुअलको ४२ लाख ९० हजार, कम्र्फटलाइन ४३ लाख ४० हजार, हाइलाइन अटोमेटीकको ४६ लाख ४० हजार रुपैयाँ रहेको छ ।

